मानव अधिकारवादी अगुवा स्व. पद्मरत्न तुलाधरको स्मृतिमा प्रतिष्ठान गठन
काठमाडौं, २१ कार्तिक । वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको छ । शान्ति प्रक्रियामा तुलाधरका सहकर्मी एवं पूर्व सभामुख दमननाथ ढुंगानाको अध्यक्षतामा स्थापित ‘पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठान’ हिजो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता भएको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा डा. चुन्दा वज्राचार्य, महासचिव परशुराम तामाङ, सचिव पासाङ शेर्पा, कोषाध्यक्ष सुम्निमा तुलाधर, सदस्य राजेन्द्र श्रेष्ठ, सुरेश आले मगर, अमरेश नारायण झा, स्टेला तामाङ, गणेश विश्वकर्मा र आङदावा शेर्पा रहनुभएको छ ।
संस्थाको आधिकारिक दर्ता पश्चात हिजै बसेको प्रतिष्ठानको पहिलो औपचारिक बैठकले यही आउँदो कार्तिक २५ गते शनिवारका दिन तुलाधरको पाँचौं स्मृति दिवस मनाउने निर्णय गरेको छ । काठमाडौंको शंखधर उद्यान (पुरानो रत्नपार्क) भित्र स्थापित तुलाधरको प्रतिमामा पुष्पगुच्छा चढाई स्मृति दिवस मनाउने निर्णय बैठकले गरेको छ ।
त्यस्तै प्रतिष्ठानले ‘पद्मरत्न लुमन्ति गुथि’ नामक अर्को संस्थासँग सहकार्य गरी तुलाधरको स्मृतिमा अन्य कार्यक्रमहरू पनि मनाउँदै जाने निर्णय गरेको छ । लुमन्ति गुथि नेपालभाषा आन्दोलनका अभियन्ताहरूले तुलाधरको स्मृतिमा स्थापना गरेको संस्था हो ।