भक्तपुरको डोलेश्वर–रत्नपार्क सीधा यातायात सेवा

भक्तपुर, १ असार । भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ ।

केदाननाथको शिर डोलेश्वर मन्दिरस्थित बसपार्कबाट बिहान ५ बजेदेखि काठमाडौँको रत्नपार्कसम्म सीधा सार्वजनिक बस सेबा सुरु भएको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

डोलेश्वरबाट जगाती, सूर्यजिनायक, कोटेश्वर, बानेश्वर, माइतीघर, सहिदगेट हुँदै रत्नपार्क रुटमा आजदेखि प्रत्येक आधा घण्टाको फरकमा डोलेश्वरबाट रत्नपार्कका लागि र रत्नपार्कबाट डोलेश्वरका लागि बस छुट्ने छ ।

सार्वजनिक बस सेवा सञ्चालनका लागि सूर्यविनायक नगरपालिका–८ कार्यालय, डोलेश्वर मन्दिर संरक्षण तथा विकास समिति र ख्वप भक्तपुर मिनिबस सेवा समितिबीच त्रिपक्षीय सम्झौता भएको हो ।

ख्वप भक्तपुर मिनिबस सेवा समितिले दैनिक आठ बस उक्त रुटमा सञ्चालन गर्ने छ ।