त्रिभुवन विमानस्थलबाट दुई महिनामा १.६४३ किलो सुनसहित ४५ जना पक्राउ
काठमाडौँ, १ असाेज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा एक किलो ६४३ ग्राम सुनसहित ४५ जना पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८३ साउन १ गतेदेखि भदौ ३१ गतेसम्म विमानस्थल हुँदै बाह्य मुलुकबाट नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार तथा तस्करी गर्ने गतिविधिमाथि निगरानी तथा सुरक्षा जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक किलो ६४३ ग्राम सुन बरामद भएको छ, जसको अन्दाजी मूल्य ४ करोड २५ लाख ७३ हजार १८६ रुपैयाँ रहेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्केका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारी तस्करहरूले सुन नेपाल भित्र्याउने प्रयास गरेको देखिएको कार्यालयले जनाएको छ। बरामद सुन तथा नियन्त्रणमा लिइएका व्यक्तिका सम्बन्धमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।
