फास्ट ट्रयाक भारतलाई नसुम्पन प्रचण्डलाई युवाको खबरदारी

काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले दक्षिणसँग सिधै जोड्ने फास्ट ट्रयाक चढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ भित्रै भारतको भ्रमण गर्न चाहिरहेको भन्दै यसबारे खबरदारी गर्नुभएको छ । जिफन्ट बागमती अञ्चल कमिटीद्वारा आज आयोजित युवा प्रशिक्षण कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका रिमालले स्वदेशी पुँजी, प्रविधि र सिपको प्रयोग गर्दै निर्माण गर्ने भनिएको आयोजना भारतलाई सुम्पन वर्तमान सरकारले हतार गरिरहेको आरोप लगाउनुभयो । राष्ट्रको हित विपरित विदेशीसँग गरिने सबै सम्झौतालाई डटेर प्रतिवाद गरिने उहाँको भनाई थियो । उहाँले भन्नुभयो,ʽ पूर्व सरकारले बजेटमार्फत र सर्वोच्च अदालतको निर्देशन बमोजिम दक्षिणसित जोड्ने नेपालको बाटो फाष्ट ट्रयाक (निजगढ– काठमाडौ) हामी आफैं बनाउँछौं भन्यौं । त्यसमा लाग्ने पैसा, प्रबिधि, श्रमिक, प्राबिधिक, इन्जिनियर हामी आफैं खोज्छौं । राष्ट्रले ऋण लिएर बनाउने भनेको थियो । यसले जनशक्तिको विकास र बेरोजगारी अन्त्य गर्न सकिन्छ भन्ने थियो, रिमालले भन्नुभयो ।
अहिले सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवाले नै यो धेरै गाह्रो र नेपालीले बनाउन नसक्ने भन्न थाल्नुभएको भन्दै रिमालले भन्नुभयो, प्रचण्ड भदौ भित्र भारत जान हतारिनुले आशंका जन्मिएको छ ।
भारतसँग कुनै पनि नयाँ सम्झौता हुनु पूर्व २२÷२५ वर्ष अगाडिको भएको पञ्चेश्वरको डिपिआरभन्दा अगाडि बढ्न नसक्नु, १९ वर्ष अगाडि भएको हुलाकी राजमार्ग सम्झौता ६ सय मिटर भन्दा बढि बन्न नसक्नुबारे प्रश्न राख्न उहाँले आग्रह गर्नुभयो । कार्यान्वयन नजाने कुनै पनि सम्झौता नेपाललाई मान्य नहुने उहाँको भनाई थियो । पूर्व सम्झौता कार्यान्वयनमा गएपछि मात्र नयाँ सम्झौता गर्नसकिने उहाँको भनाई थियो ।
जिफन्टका महासचिव विष्णु लम्सालले युवा श्रमिकको ज्ञान, शिप र क्षमता विकास गरि न्यायिक ढंगले श्रम क्षेत्रलाई अगाडि बढाईनुपर्ने भनाई राख्नुभयो । उहाँले यूवा बिदेशिने क्रमलाई रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा आफुहरुले विशेष ध्यान केन्द्रित गरेको बताउनुभयो ।
कार्यक्रममा महासंघका सचिव रमेश बडालले प्रस्तावित श्रम ऐनले सबै क्षेत्रका श्रमिकलाई गणना गर्ने भन्दै प्रस्तावित ऐन श्रमिकको हितमा हुने धारणा राख्नुभयो ।
कार्यक्रममा अञ्चल अध्यक्ष रामहरि नेपालले जोसको बेला होश नगुमाई युवा श्रमिकहरु न्यायसंगत ढंगले देश विकास, आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका युवा श्रमिकलाई सम्मान गरिएको थियो ।
भदौ ५ गते ।