गाम्बियाका निर्वाचित राष्ट्रपति ब्यारो मालीमा, जाम्मेद्वारा पद त्याग्न अस्वीकार

गाम्बिया । द गाम्बियामा राष्ट्रपति याह्य जाम्मेलाई पदत्याग गर्न मनाउनका लागि गरिएको वार्ता असफल भएपछि निर्वाचित राष्ट्रपति अडामा ब्यारो माली पुग्नुभएको छ।
ब्यारोले एउटा शिखर सम्मेलनमा अरु अफ्रिकी देशका नेताहरुलाई भेट्नुहुनेछ ।
आगामी हप्ता ब्यारोले शपथ ग्रहण गर्ने योजना भएकोले उहाँ त्यो संक्रमणकालीन गतिरोध हटाउने पक्षमा हुनुहुन्छ।
राष्ट्रपति जाम्मेको कार्यकाल आउँदो बिहीबार सकिनेछ।
त्यसपछि उहाँको शासनलाई मान्यता नदिने अफ्रिकी संघले बताएको छ।
सम्झौतामा सहजीकरण गर्नका लागि नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारी बाञ्जुल पुग्नुभएको थियो तर जाम्मेले शक्ति छोड्न मान्नुभएन।
शक्ति हस्तान्तरण शान्तिपूर्ण रुपमा नहुँदाको नतिजालाई लिएर त्यो क्षेत्र त्रसित छ।
१५ वटा पश्चिम अफ्रिकी देशहरु रहेको इकोवासले बुहारीको टोलीको संयोजन गरेको छ।
जाम्मेले पदत्याग गर्न नमानेमा सैनिक शक्तिको प्रयोग गर्न सक्ने इकोवासले बताएको छ।
५१ वर्षीय जाम्मेले सन् १९९४ मा देशको सत्ता हातमा लिनुभएको थियो।