१५ सय ट्याक्सी नम्बरका लागि एक लाख ४९ हजारको आवेदन –चैत्र २६ गते नंबर पाउने

maitrinews

Taxi

काठमाडौ। गत बर्ष २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पवाट पीडितहरुको लागि दिन लागिएको ट्याक्सीको नतिजा आगामी २६ चैतमा सार्वजनिक हुने भएको छ।

यातायात व्यवस्था विभागले गोलाप्रथाबाट नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । ट्याक्सी नम्बरका लागि आवेदन दिने सबैको नाम अपडेट भइसकेको र त्यसलाई किताबका रूपमा छापेर रुजु गरेपछि गोलाप्रथामार्फत ट्याक्सी नम्बर वितरण गर्न लागिएको विभागले भनेको छ।

विभागका अनुसार भूकम्पले धेरै क्षति पुर्‍याएका १४ जिल्लाका सर्वसाधारणलाई गोलाप्रथाको माध्यमबाट सरकारले नयाँ ट्याक्सी दर्ता गर्ने सुविधा दिन लागेको हो । १५ सय ट्याक्सी नम्बरका लागि एक लाख ४९ हजारले आवेदन दिएका छन्।

आवेदन दिने सबैको नाम रहेको पुस्तक प्रकाशन गरिने र त्यसलाई १४ जिल्लाकै जिल्ला प्रशासन, मालपोत तथा प्रहरी कार्यालयमा पठाउने विभागको तयारी छ । आवेदन दिएर पनि कसैको नाम छुटेमा जिल्लाबाटै दाबीविरोध गर्न पाइने पनि विभागले भनेको छ।

नतिजा सार्वजनिक गर्न विभागका निर्देशक सोम फुयाँलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिले फागुनभित्रै आवेदकहरूको नामसहितको पुस्तक प्रकाशन गरेर जिल्ला जिल्लामा पठाउने तयारी भएको छ।

भूकम्पपीडितहरूलाई राहतस्वरूप सरकारले ट्याक्सी नम्बर दिन लागेको हो । सरकारले ट्याक्सी दर्ता लामो समयदेखि रोक्दै आएको छ। गोलाप्रथामा छनोट हुनेहरूले ट्याक्सी नम्बरमात्र पाउने हुन् । ट्याक्सी भने आफैँले किन्नुपर्ने हुन्छ।

प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।