मधेसी मोर्चाव्दारा सप्तरीमा एमालेको शान्तिपूर्ण मेची—महाकाली राष्ट्रिय अभियानमाथि अवरोध, लाठी जुलुस प्रदर्शन,जवरजस्ती बजार र यातायात बन्द

काठमाडौँ । नेकपा एमालेको मेची—महाकाली राष्ट्रिय अभियानलाई सप्तरीमा मधेसी मोर्चाले अवरोध गर्ने प्रयास गरेपछि सदरमुकाम राजविराज लगायत विभिन्न ठाउँमा बिहानैदेखि तनाव उत्पन्न भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले स्थानीय गजेन्द्र चोकमा टायर बालेर विरोध गरेका छन् । मोर्चाले सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ ।
मोर्चाले गरेको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन ।
एमालेको अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरिएको मोर्चाले जनाएको छ । बजारहरु पनि जवरजस्ती बन्द गराइएका छन् । मोर्चाले आज बिहान लाठी जुलुस समेत प्रदर्शन गरेको छ । उता स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ ।
मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा झुम्कासम्म सामान्य भए पनि सुनसरीकै इनरुवामा भने मधेसी मोर्चाका नेता–कार्यकर्ताले कालोभण्डा देखाएर केही अवरोध गर्न खाजेका छन् । २०–२५ जनाको समूहमा भेला भएका उनीहरुले कार्यक्रमस्थल वरपर कालोझण्डा देखाएका थिए । तर तत्काल नै प्रहरीले उनीहरुलाई त्यहाँबाट लखेटेपछि अहिले सामान्य छ । राजविराज, रुपनीलगायतका स्थानमा पनि मोर्चाका कार्यकर्ताहरुले सामान्य जुलुस निकालेका छन् । एमालेले आज राजविराजमा पनि कार्यक्रम गर्ने तयारी गरेको छ ।
फागुन २३ गते ।