विभेदकारी संविधान स्वीकार्न सकिन्न : श्रेष्ठ

maitrinews

 

पनौती । सङ्घीय समाजवादी फोरम, नेपाल काभ्रे जिल्ला निर्बाचन क्षेत्र नम्बर २ को पुनर्गठन तथा पार्टी प्रवेश कार्यक्रम पनौतिको श्रीराम पार्टी प्यालेसमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै पार्टीका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले विभेदकारी संविधान नेपालका आदिवासी जनजाति, मधेसी, खस, शिल्पी लगायतका उत्पीडित समुदायहरूले कुनै पनि हालतमा स्वीकार्न नसक्ने बताउँदै उनले भने,‘देश सङ्घीयतामा गइ सकेको परिप्रेक्ष्यमा केन्द्रले स्थानीय तहको निर्वाचन गराउनु आफूलाई सङ्घीयता पक्षधर बताउने प्रधानमन्त्रीलाई सुहाउँदैन ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल सिद्धान्तत स्थानीय तह प्रदेश मातहत रहने कुरा स्वीकारे पनि आफू प्रधानमन्त्री भएको बेला जसरी भए पनि एउटा निर्वाचन गराउँछु भन्नुको तात्पर्य के ? भन्ने प्रश्न गर्दै उनले भने ‘स्थानीय तह प्रदेशको क्षेत्राधिकारभित्र हुनु पर्छ भन्ने कुरा स्वीकारेपछि त्यसको निर्वाचन पनि प्रदेशले गराउन पाउनु पर्छ’ । उनले केन्द्रले स्थानीय तहको चुनाव गराउँछु भन्नु मुखले छँदा छँदै नाकले खाना खाए जस्तै भएको बताए । पुराना दलहरूले सङ्घीयतालाई साँचो अर्थमा स्वीकारेको हो भने पहिला सङ्घ र प्रदेशको निर्वाचन गराउनु पर्दछ र यसका लागि सबैलाई स्वीकार्य हुने गरी पहिला संविधान संशोधन प्रस्ताावलाई परिमार्जन सहित पारित गर्नु पर्छ भन्ने कुरा बताए ।
बिशिष्ट अतिथि डा गणेश योन्जन तामाङले ससफो, नेपाल पहिचान र सङ्घीयताको मुद्दालाई उठाएर स्थापना भएकाले यस पार्टीमा गोलबन्द हुन सबैलाई आह्वान गरे । उल्लेख्य सङ्ख्यामा स्थानीय जनता उपस्थित रहेको उक्त कार्यक्रममा समाजवादी युवा फोरम, नेपालका अध्यक्ष सुनिलकुमार चौधरी, ताम्सालिङ प्रदेशका उपाध्यक्ष आसमान तामाङ, पार्टीका काभ्रे जिल्ला अध्यक्ष सिद्धी बहादुर जोशी, तामाङ सङ्का उपाध्यक्ष ज्ञान बहादुर तामाङ लगायतले समेत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा पार्टी प्रवेशीहरूको तर्फबाट अमर मगरले मन्तव्य दिएका थिए ।
गणबज्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला पार्टी सचीव एस। रहर तामाङले सञ्चालन गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी अमर मगर लगायत १०० जना सङ्घीय समाजवादी फोरम, नेपालमा प्रबेश गरेका थिए । कार्यक्रमको अन्त्यमा नारायण सिङ तामाङको अध्यक्षतामा २१ सदस्य काभ्रे निर्वाचन क्षेत्र न २ समन्वय समिती घोषणा गरेको थियो भने सहअध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा पदाधिकारीहरूलाई सपथ ग्रहण गराएको थियो । पुनर्गठित २१ सदस्यीय समितिका पदाधिकारी र सदस्यहरूमा अध्यक्ष नारायण सिङ तामाङ, उपाध्यक्ष हर्कजित तामाङ, सचिव सजनी लामा, सहसचिव सानु तामाङ र सदस्यहरुमा बलबहादुर तामाङ, बेदमान तामाङ, कृष्ण मान तामाङ, छेवाङ तामाङ , सागर तामाङ आदि रहेका छन् ।