उपत्यकामा काँग्रेस–माओवादी जिल्ल, एमालेको यसरी भयो लालकिल्ला
काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचन ३४ जिल्लाका तीन प्रदेशमा सम्पन्न मात्र भएको छैन । मतगणना कार्य समेत करिब अन्त्य अवस्थामा आएको छ । सबै भन्दा बढी चर्चामा रहेका चार महानगरपालिका काठमाडौं, भरतपुर, पोखरा–लेखनाथ र ललितपुरको अन्तिम नजिताका लागि अझै केहीदिन कुर्नु पर्ने भएको छ । तर, अहिलेसम्मको मतपरिणामलाई हेर्ने हो भने कम्तीमा तीन महानगरपालिका एमालैकै पोल्टामा पर्ने निश्चित जस्तै भएको छ ।
अहिलेसम्मको आँकलनमा एमालेले तीन प्रदेशका ३४ जिल्लामा एक सय २० बढी स्थानमा जित हात पार्ने निश्चत भएको छ भने काँग्रेसले एक सयकै हाराहारीमा चित्त बुझाउनु पर्ने अवस्था छ । माओवादीले त ५० नै पुर्याउने अवस्था छैन ।
प्रदेश नम्बर ३ का १३ जिल्लाका ११९ तहमा अहिलेसम्मको नतिजालाई हेर्ने हो भने पनि एमालेले नै सबैभन्दा बढी स्थान आफ्नो कब्जामा पारेकोे छ । एमालेले अहिलेसम्म ५४ स्थानमा आफ्नो कब्जा जमाएको छ भने काँग्रेस ३३ स्थानसहित दोस्रो र माओवादीले १६ सहित तेस्रो स्थानमा छ ।
त्यसो त काठमाडौं, दोलखा, भक्तपुर, रसुवा जस्ता जिल्लाकै आँकडा हेर्ने हो भने पनि त्यहाँ माओवादीले एउटा तहमा पनि जित निकाल्न सकेको देखिदैँन । संविधानसभाको पहिलो निर्वाचनमा माओवादीले निकै राम्रो पकड जमाएको थियो । दोस्रो निर्वाचनमा काठमाडौँबाट एक सिट पनि ल्याउन नसकेको माओवादी स्थानीय निर्वाचनमा भने ‘क्लिन स्वीप’ भएको छ । त्यसो त संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौँका दश निर्वाचन क्षेत्र मध्ये आठ क्षेत्र जितेको काँग्रेसले पनि सन्तोषजनक नतिजा ल्याउन सकेन । दश नगरपालिका र एक महानगरपालिका रहेको काठमाडौँको अहिलेसम्मको नजिता एमालेकै पक्षमा पल्लाभारी देखिएको छ । दश नगरपालिका मध्ये एमालेले कम्तीमा ६ नगरपालिका जित्ने निश्चित जस्तै भएको छ । महानगरपालिकाको मतपरिणामलाई नै हेर्ने हो भने पनि एमालेले शानदार जित निकाल्ने आँकलन गरिएको छ । अहिलेसम्म एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले करिब एक लाख मत गणना हुँदा करीब १० हजार मतले अग्रता लिनुभएको छ । यसले पनि उहाँको जित निश्चित जस्तै देखिएको छ ।
भक्तपुर जिल्ला एमालेका लागि सबैभन्दा प्रतिकुल जिल्ला हो । चार नगरपालिका रहेको भक्तपुरमा समेत एमालेले चार मध्य तीन नगरपालिकामा जित हात पार्ने संकेत देखिएको छ । भक्तपुर नगरपालिकामा नेमकिपाले जित हात पारेको छ भने मध्यपुर नगरपालिकामा एमालेले जित हात पारेको छ । चाँगुनारायण र सुर्यविनायकमा पनि एमालेले जित आफ्नो पोल्टामा पार्ने निश्चित जस्तै छ । यसले पनि भक्तपुरमा समेत एमालेले आफ्नो किल्ला जमाउने देखिएको छ । प्रदेश नम्बर तीनका सबै जिल्लाको नजिता पनि एमालेकै पक्षमा बलियो देखिएको छ । मुलुककै सबै भन्दा शक्तिशाली मानिएको काठमाडौँ महानगरपालिकाको मतगणनाको अहिलेसम्मको परिणाम हेर्दा पनि काँग्रेस दोस्रो र माओवादी पाँचौँ स्थानमा आउने प्रष्ट जस्तै भएको छ ।
काठमाडौंमा ०६४ सालको निर्वाचनमा माधव नेपाल जस्ता नेतालाई हराउने माओवादी अहिले त्यही क्षेत्रका नगरपालिका र महानगरका वडामा जमानत जोगाउन नसक्ने अवस्थामा पुग्नुलाई पनि अब कम्युनिष्ट किल्लाका रुपमा काठमाडौँबासीले एमालेलाई नै रुचाएको प्रष्ट भएको छ । माओवादीले जित्ने आँकलन गरेका तारकेश्वर, टोखा, शंखरापुर, बूढानीलकण्ठ जस्ता नगरपालिकामा समेत माओवादी पत्तासाफ हुनुले एमाले काठमाडौँमा निकै बलियो रहेको संकेत गरेको छ ।
विगतको निर्वाचन परिणामलाई नै हेर्ने हो भने पनि काठमाडौँमा एमालेको कमब्याक भएको सहज विश्लेषण गर्न सकिन्छ ।
माओवादीको निकै चकचकी रहेका बेला ०६४ सालको निर्वाचनमा एमाले शून्य सीटमा सीमित थियो । ०७० को संविधानसभा निर्वाचनमा एमालेले आफूलाई केही शक्तिशाली बनायो अर्थात माथि विश्लेषण गरेअनुरुप नै १० मध्ये २ सीटमा उक्लियो । अहिले त्यसमा पनि निकै सुधार गर्दै एमालेले किर्तिपुर, शंखरापुर, टोखा, ताराकेश्वर जस्ता नगरपालिकामा जित मात्र हात पारेन । हाल गणना भइरहेकामध्ये बूढानीलकण्ठ, कागेश्वरी–मनहरा जस्ता नगरपालिकामा पनि जित्ने आँकलन गरिएको छ । विसं. ०४८ देखि ०५६ सम्मको निर्वाचनमा काठमाडौंमा एकलौटी बर्चश्व कायम गरेको एमालेले ०६४ को निर्वाचनमा निकै कमजोर बनेको थियो । तर, स्थानीय निर्वाचनमा एमालेलाई त्यो गुमेको शाख फर्काउने सुनौलो अवसर प्राप्त भएको छ । दश वर्षमा खोलो पनि फर्किन्छ भने झैँ एमालेले ०६४ को निर्वाचनमा गुमाएको शाख अहिले एकै पटक ठीक १० वर्षपछि अर्थात ०७४ मा फर्काएको छ । यसले एमालेको ‘कमब्याक’को संकेत दिएको छ ।
काँग्रेसले हालसम्म दक्षिणकाली, नागार्जुन र गोकर्णेश्वर नगरपालिका जितेको छ । उसले जितेका नगरपालिकामा समेत उसको वर्चश्व नरहनुले पनि एमाले ती नगरपालिकामा पनि बलियो रहेको संकेत गर्छ । त्यसो त नागार्जुनमा पनि काँग्रेसले मेयरमा मात्रै चित्त बुझाउनु परेको छ । उपमेयर एमालेले नै जितेको छ भने बहुमत वडाध्यक्ष एमालेकै छन् । चन्द्रागिरीको पनि हाल त्यही हो । त्यसैले काँग्रेस कामठमाडौँमा कमजोर नै बनेको देखिन्छ ।
ललितपुर, भक्तपुर र काठमाडौँमा गरी १५ सिट रहेका छन् । त्यस मध्ये भक्तपुर दुई र ललितपुर तीन सीट । तर, यी १५ सिट मध्ये एमालेलाई गत संविधानसभा निर्वाचनमा दुई सिट मात्र प्राप्त भएको थियो । ललितपुर र भक्तपुरमा शून्य परिणाम हात पारेको एमालेले अहिले भक्तपुरमा आफूलाई शक्तिशाली मात्र बनाएको छैन । एक महानगरपालिका रहेको ललितपुरमा एमालेले काँग्रेसलाई कढा टक्कर दिएको छ । त्यहाँ अहिले पनि जित्न सक्ने आँकलन एमालेको छ । त्यसो त दुई नगरपालिका रहेको ललितपुरमा एक नगरपालिकामा एमालेले जित हात परेको छ भने तीन मध्ये एक गाउँपालिकामा पनि एमाले नै विजयी भएको छ । यो पनि एमालेका लागि सुनौलो अवसर हो ।

यति मात्र होइन पोखरा महानगरपालिकामा पनि एमालेले नै लीड गरेको छ । पद र पैसाको चरमदुरुपयोग गरेर आफ्नी छोरीलाई मेयर बनाउने प्रचण्डको सपनासमेत भरपुरवासीले फिका बनाउँने संकेत गरेका छन् । काँग्रेसको निकै बलियो पकड रहेको भरतपुरको नजिता एमालेका पक्षमा आउने हो भने त्यसले पनि निकै अर्थ राख्ने छ ।
राष्ट्रियताका पक्षमा पहाड झैँ उभिएको एमालेले अहिले पहिलो चरणमा निर्वाचन भएका ३, ४ र ६ मा बहुमत ल्याउनु भनेको दोस्रो चरणमा हुने चार प्रदेशमा पनि सजिलै बहुमत ल्याउने आँकलन हो । तर, यसका लागि एमालेले अहिलेको भन्दा पनि अझ बुद्धिमतापूर्ण ढंगले काम गर्नुपर्ने देखिएको छ । पार्टी भित्र देखिएको सामान्य गुटबन्धीलाई पनि अन्त्य गरेर, भूगोलमा राम्रो आधार भएका र लोकप्रिय उम्मेदवारलाई उठाउँने हो भने एमालेका पक्षमा आएको यो जनलहरलाई कसैले पनि रोक्न सक्ने अवस्था छैन । जननेता मदन भण्डारीले भनेझैँ अहिलेको जनलहरले पनि ‘सूर्य त आयो–आयो, एमाले त आयो–आयो’ भन्ने सन्देश दिएको छ ।