महानगर स्तरीय अन्तर वडा पौडी प्रतियोगिता सुरु : १३७ खेलाडी मैदानमा

काठमाडौँ, १६ जेठ । काठमाडौँ महानगरपालिका वडा नं. २९ को आयोजना र नेपाल पौडी सङ्घको प्राविधिक सहकार्यमा ‘महानगर स्तरीय अन्तर वडा पौडी प्रतियोगिता’ आजदेखि बालाजु उद्यानस्थित पौडी पोखरीमा सुरु भएको छ। ‘स्वस्थ शरीर, स्वस्थ वडा, स्वस्थ महानगर’ भन्ने मूल नाराका साथ सुरु भएको यस प्रतियोगितामा महानगरका विभिन्न वडाका १३७ जना खेलाडीहरूले प्रतिस्पर्धा गरिरहनुभएको छ।

सहभागी खेलाडीहरूमध्ये ७६ जना पुरुष र ६१ जना महिला रहेका छन्। आयोजक वडाले प्रत्येक वडाबाट अधिकतम ८ जनासम्म खेलाडी सहभागी गराउन पत्राचार गरेकोमा महानगरका सबै वडाहरूले उत्साहजनक रूपमा खेलाडी पठाएको वडा सदस्य सन्तोष ढुङ्गेलले जानकारी दिनुभयो।

प्रतियोगिताका विधाहरू
प्रतियोगितामा ५० मिटर, १०० मिटर, २०० मिटर र ४०० मिटर दूरीका फ्रिस्टायल, ब्रेस्टस्ट्रोक र बटरफ्लाई विधाहरू समावेश गरिएका छन्। यसैगरी, २०० मिटर दूरीको ‘इन्डिभिज्युअल मेडले’ र महिला-पुरुषको संयुक्त ‘रिले’ प्रतिस्पर्धा समेत आयोजना गरिएको छ।

वडा सदस्य ढुङ्गेलका अनुसार, महानगरवासीहरूलाई सक्रिय र स्वस्थ जीवनशैलीप्रति प्रोत्साहित गर्न, शारीरिक व्यायाममा क्रियाशील बनाउन र विभिन्न वडाहरूबीच आपसी समन्वय र सहकार्यको संस्कार विकास गर्न यो प्रतियोगिता आयोजना गरिएको हो। साथै, स्थानीय स्तरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडीहरू पहिचान र उत्पादन गर्ने लक्ष्य समेत राखिएको छ।

पुरस्कारको व्यवस्था
प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट ठहरिने एक जना महिला र एक जना पुरुष खेलाडीलाई जनही नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ। साथै, अन्य विजयी खेलाडीहरूलाई प्रोत्साहन स्वरूप मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।