काठमाडौं महानगरभित्र नक्सा पास नगरी बनेका घर, भवनलाई नक्सा पास गर्न ९० दिनको समय

काठमाडौं : महानगरपालिकाले एक सूचना जारी गरि नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास गर्न ९० दिनको समय दिएको छ ।

महानगरको शहरी व्यवस्थापन विभागले आज निकालेको सार्वजनिक सूचनामा सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास गर्न आग्रह गरेको हो ।

सूचनामा नक्सा पास नगरी बनेका यस्ता संरचना ९० दिनभित्र नक्सा पास नगरे महानगरले कारबाही प्रक्रिया अघि बढाउने भनिएको छ ।

९० दिनभित्र नक्सा पास नगरे स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारबाही गरिने महानगरले जनाएको छ ।

यस्तै महानगरले अर्को सूचनामा घरको सीमा पर्खालको नक्सा पास गर्न भनिएको छ । बिना नक्सा बनाएका घरको सीमा पर्खाल ३५ दिनभित्र भत्काउन सूचना निकालेर आग्रह गरेको छ । घरधनीले अनधिकृत बनाइएका सीमा पर्खाल नभत्काए महानगरले भत्काइदिने सूचनामा उल्लेख छ ।