लुटपाटमा संलग्न दुई जना पक्राउ
काठमाडौंः २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित लुटपाटमा संलग्न २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।
उनीहरुले काठमाडौं महानगरपालिका–३१ कात्यायनी मन्दिर नजिक रहेको केएस मोबाईल पसलमा मोबाईल किन्छु भन्दै प्रहरी हौं भनि नक्कली पेस्तोल देखाई ३ थान मोबाइल लुटेको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले उनीहरूलाई सोही मन्दिर नजिकबाट लुटपाट गरेको ३ थान मोबाइल, घटनामा प्रयोग भएको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।