रसुवागढी नाका सुचारू: भित्रिन थाले कन्टेनर

रसुवा : रसुवागढी नाकाबाट चिनियाँ सामग्री बाेकेकाे मालबाहक  कन्टेनर भित्रिन थालेको छ । केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो ।

गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात तीन दिनको अन्तरालमा ५६ चिनियाँ मालवाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भू–भागमा मालसामान ल्याइरहेको सीमा सुरक्षाकर्मीले बताएका छन् ।

सामान आयातमा विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनरमात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१ कन्टनेरबाट सामान उपलब्ध गराएको जनाइएको छ । यसबाट उपभोक्ताको माग आपूर्तिमा सहज भएको छ ।

बडादशैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गराएको सामग्रीमध्ये दुई कन्टेनर दाँतेओखर र ४६ कन्टेनर तयारी पोशाक रहेको प्रहरीले जनाएको छ । यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन् ।

नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेको सीमा प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनबाट आयात भएका सामग्री पासाङल्हामु मार्ग अवरूद्व भएपछि सबै कन्टेनरलाई स्याफ्रु, मैलुङतर्फबाट काठमाडौँ पठाइएको बताउनुभयो । भारी वर्षाका कारण मैलुङ खण्डको जीर्ण राजमार्गलाई गल्छी, त्रिशूली, रसुवागढी सडक सुधार आयोजनाको रेखदेख गरिरहेको छ ।

गत साउन २४ गते रातिको वर्षाले क्षतिग्रस्त रसुवाको बनुवा घुम्ती खण्डको पासाङल्हामु मार्ग भने छिटो छरितो पुनःनिर्माण भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।