गोकर्णेश्वरबाट चोरीको मोटरसाइकल सहित एकजना पक्राउ

काठमाडौं : काठमाडौंकाे गोकर्णेश्वरबाट चोरीको मोटरसाइकल सहित एकजना पक्राउ परेकाे छ । महानगरपालिका-६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-१ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङलाई चोरी गरेको मोटरसाइकल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

काठमाडौं बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२-०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको थियाे ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट राखी चलाएकाे अवस्थामा गोकर्णेश्वर नगरपालिका-६ नयाँवस्तीबाट पक्राउ गरेको हो ।

प्रहरीले उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।