त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित तीन जना पक्राउ

काठमाडौं, ६ असाेज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

उनीहरूकाे साथबाट भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन फेला परेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका-९ स्थायी वतन भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१ स्थायी वतन भएका १९ वर्षीय कविन्द्र विश्‍वकर्मा र कालिकोट पलाता गाउँपालिका-७ स्थायी वतन भएका २५ वर्षीय जिवराज बम रहेका छन् ।

हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका हिमाल र कविन्द्रलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुबाट भन्सार छली ल्याएको १/१ थान सिक्री र १/१ थान औंठी सहित पक्राउ गरेकाे हाे ।

पक्राउ परेकाहरू संग सोधपुछको क्रममा उक्त सुन जिवराजले भन्सार छली ल्याउन लगाएको खुल्न आएकाे छ ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।