दैलेखमा मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ

दैलेख, ७ असाेज । गुराँस गाउँपालिका-१ पातल खोला बस्ने भुपेन्द्र बहादुर रामजाली र सोही ठाउँ बस्ने सेते बिकको घरमा राखिएको मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ बस्ने २० वर्षीय बिनोद शाही, सोही ठाउँ बस्ने २० वर्षीय रितिक शाही, सोही ठाउँ बस्ने २५ वर्षीय दिनेश शाही र सोही नगरपालिका-४ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।

भुपेन्द्र बहादुरको घरको बरण्डामा राखेको लु.८० प २०१८ नम्बरको मोटरसाइकल र सेतेको घरभित्र कोलियामा राखिएको क.प्र.०२-००१ प २०९ नम्बरको मोटरसाइकलको ह्यान्डिल लक तोडी तारहरु काटी डाईरेक्ट जडान गरि चोरी गर्दै गरेको अवस्थामा प्रहरी चौकी तल्लो ढुङ्गेश्वरबाट खटिएको प्रहरीले बिनोदलाई पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धानको क्रममा मोटरसाइकल चोरीमा संलग्न अन्य व्यक्ति फरार भएको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले फरार व्यक्तिहरूको खोजी गर्ने क्रममा रितिकलाई पैदल हिँडिरहेको अवस्थामा तथा किशोर र दिनेशलाई भे.४ प ८५८३ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले उनीहरू संग यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *