कञ्चनपुरमा जङ्गली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

कञ्चनपुर, ७ असाेज । जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् ।

बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेकाे अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन् ।

उनलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो । होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो ।

निकुञ्जको टोलीले १० किलो मासुसहित रावललाई पक्राउ गरेकाे जनाएकाे छ । मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाएकाे छ ।

परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताउनुभयो ।