देउवा प्रचण्डपथ र प्रचण्ड देउवापथमा गएः महेश बस्नेत (भिडियो अन्तवार्ता)

काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटरलाई षडयन्त्र गर्ने थलोको रुपमा विकास गरेको आरोप लगाउनु भएको छ । मैत्रीन्युजसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । त्यसैगरी बस्नेतले नागरिकता सम्वन्धि विधेयकका सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमले फेरि एक पटक मुलुकको राष्ट्रियता बाँचेको भन्दै स्वागत गर्नुभयो ।
‘प्रधानमन्त्रीले आफू निकटका केही वकिल र नेताहरुलाई बालुवाटारमै बोलाएर राष्ट्रपति विरुद्ध, राज्यका विरुद्ध षडयन्त्र गर्न थाल्नुभयो,’ उहाँले भन्नुभयो, ‘उहाँलाई त्यहाँ विभिन्न खालका सुझाव दिएको जानकारी पनि हामीलाई प्राप्त भएको छ ।’ राष्ट्रपतिलाई निस्तेज गर्ने र उपराष्ट्रपतिमार्फत प्रमाणिकरण गराउनेसम्मका प्रयासवारे बालुवाटरमा छलफल भएको उहाँले बताउनुभयो । ‘उपराष्ट्रपतिलाई पनि यो षडयन्त्रको जालोभित्र फसाउने खेल त्यहाँबाट भएको थियो,’ बस्नेतले भन्नुभयो, ‘यतिसम्मकी सदन जिवित रहेको व्याख्या गरेर महाअभियोग प्रस्ताव ल्याएर राष्ट्रपतिज्युलाई हटाउनेसम्मका खेलको प्रयास बालुवाटमा भएको थियो । उनीहरु जसरी पनि नेपाल राष्ट्र र नेपाली जनतामाथि राष्ट्रघाट गर्ने प्रयासमा थिए ।’
उहाँले गठबन्धनका सबै षडयन्त्रलाई असफल बनाउन एमाले सक्षम रहेको पनि दाबी गर्नुभयो । ‘राष्ट्रपतिको कदमको सबैले स्वागत गरेका छन्, उहाँलाई सलाम ठोकेका छन्,’ उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको यो कदम राष्ट्रका लागि स्वागतयोग्य छ । यसले हाम्रो राष्ट्रियता र सार्वभौमिकता फेरि एक पटक बाँचेको छ ।’ उहाँले नागरिकता सम्वन्धि अप्ठ्यारा समस्यालाई मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने र त्यसले छिनोफानो गर्ने पनि दाबी गर्नुभयो ।
बस्नेतले पूर्वराष्ट्रपति र वर्तमान उपराष्ट्रपतिले राष्ट्रपतिको कदमका विरुद्ध गरेको वक्तव्यवाजीको आलोचना पनि गर्नुभयो । ‘नेपालको संविधानको कुनै पनि धारा र उपधाराले उपराष्ट्रपतिले राष्ट्रपतिलाई ‘च्यालेन्ज’ गरेर बक्तव्य निकाल्ने चलन छैन,’ उहाँले भन्नुभयो, ‘अहिले के देखिन्छ भने शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवाद छाडेर प्रचण्डपथमा हिँडेको र यता प्रचण्डले माओवाद छाडेर देउवापथमा हिँडेका कारण यस्तो घटना दिनप्रतिदिन दोहोरिन थालेको छ । त्यसैले विधिको शासन स्थापित गर्न आगामी निर्वाचनमा एमालेलाई जिताउनुको विकल्प छैन ।’ उहाँले वैदेशिक चलखेलमा देउवा र प्रचण्ड बढी सक्रिय भएको आरोप पनि लगाउनुभयो ।