दशैं विशेष नवरात्रि – पाँचौं दिन

पञ्चनारी – न तीर्थ छ, न नदी

सुरेश किरण/मैत्री न्युज

काठमाडौं, १४ असोज । आज दशैं–मोहनी पर्वको पाँचौं दिन अर्थात पञ्चमी । आज काठमाडौंको टेकू क्षेत्रस्थित तल्लो भेगमा पचली भैरवको ठूलो जात्रा हुने गर्दछ । यो जात्रालाई स्थानीय नेपालभाषामा पचिंमह्रः भनिन्छ ।

दश दिनसम्म मनाइने दशैंको प्रमुख दिन दशमी भए पनि काठमाडौंको तल्लो भेगमा भने आज मनाइने पचिंमह्रः नै दशैंको प्रमुख दिन हो ।

आज पचली भैरवको जात्रा हुने दिन भएकोले काठमाडौंमा मनाइने नवरात्रि मेला पनि आज पचली भैरवथानमै जाने गरिन्छ ।

आजको नवरात्रि मेला टेकू क्षेत्रमै रहेको पंचनारी तीर्थमा जाने गरिन्छ । आज पंचनारी तीर्थमा स्नान गरी पचली भैरव पीठमा पूजा गर्ने परम्परा रहेको छ ।

टेकू क्षेत्रमा टेकू दोभान भन्ने अर्को तीर्थ पनि रहेको छ । पंचनारी तीर्थ भने टेकू दोभानबाट अलि वरै पर्दछ । हाल काठमाडौं महानगरपालिकाको वातावरण विभाग सँगैको बाटोबाट सिधा बागमतीतिर जाँदा ठीक सामुन्ने नै यो तीर्थ आइपुग्छ ।

तर विडम्बना, अहिले यो तीर्थ भने गायब भइसकेको छ । तीर्थ गायब भएको मात्र होइन पहिले पहिले तीर्थ छ भनी अनुमान गरिएको स्थानसम्म पुग्नै नसक्ने गरी उक्त क्षेत्रमा पर्खाल जस्तो बार लगाइसकेको छ ।

सो ठाउँमा कर्मा लुण्डुप नेरासाङको स्मरणमा ‘चिन्तामणि पंचनारी पार्क’ बनाइएको भन्ने एउटा शिलापत्र राखिएको छ । पार्कमा एउटा चैत्य पनि ठड्याइएको छ । हाल बारको ढोका नखोलिने भएकोले पार्क र त्यहाँको पंचनारी तीर्थसम्म जान सकिँदैन ।

पचली भैरवको पूजाआजा गर्दा निक्लिने केही पूजा सामग्रीहरु पनि सोही पंचनारी तीर्थमा विसर्जन गर्नुपर्ने परम्परा छ । तर बारले गर्दा तीर्थसम्म पुग्न नसक्ने भएकोले पचली भैरवका पूजा सामग्रीहरु समेत बार बाहिरै फाल्ने गर्न थालिएको छ ।

बागमतीको जुन ठाउँमा पंचनारी नदी मिसिन पुग्छ त्यही दोभानलाई पंचनारी तीर्थ भनिएको हो । तर सो ठाउँमा अहिले पंचनारी नदी समेत हराइसकेको छ । पंचनारी नदी कहाँ छ र कहाँबाट बग्थ्यो भन्ने कुरा स्थानीय वृद्धवृद्धाहरुलाई समेत थाहा छैन ।

नदीनालाहरु हराएका कारण त्यसले पर्यावरणमा असर पार्ने त छँदैछ, साथसाथै यहाँको रैथाने संस्कृति र संस्कारहरुमा समेत प्रभाव पारेको यसबाट थाहा हुन्छ ।