दसैँमा पनि आयल निगमका डिपोहरू खुला हुने
काठमाडाैं, १४ असाेज । नेपाल आयल निगमले दसैँ बिदाकाे समयमा पनि आफ्ना सबै डिपोहरु खुला रहने जनाएको छ ।
निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको बिदामा १३ डिपोहरु खुला राख्ने जनाएको छ ।
दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि डिपोहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए ।
बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा १३ वटा डिपोहरू विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ ।
निगमका अनुसार हाल दैनिक रुपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजेल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको छ ।