दमौलीका किसान बाख्रापालनबाटै आत्मनिर्भर र सन्तुष्ट

दमौली, १४ असोज । दमौलीका किसान बाख्रापालनबाटै आत्मनिर्भर र सन्तुष्ट बनेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ बाफल निवासी सोमबहादुर आलेमगर १४ वर्ष साउदीमा बस्दा उहाँको काम भेडाबाख्रा चराउने थियो । परदेशमा पसिना र परिश्रम बगाएको १४ वर्षपछि उहाँ घर फर्किएर फेरी बाख्रापालनबाटै आत्मनिर्भर बनेका छन् ।

आलेमगरलाई घर फर्किएपछि विदेश नजाने सोच पलायो । विदेशमा बगाउने जति पसिना नेपालमै बगाउन सकिए आम्दानी गर्न सकिन्छ भन्ने ध्येयका साथ उहाँले विसं २०६२ बाट बाख्रापालन सुरु गर्नुभयो । सुरुआती चरणमा थोरै बाख्रा पालेर व्यवसायलाई अगाडि बढाएँ । विसं २०७२ मा भने फार्म नै दर्ता गरी व्यावसायिक रुपमा बाख्रापालन गरिरहेको आले बताउनुहुन्छ ।

परिवारसँगै बसेर घरमै व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको उहाँ बताउनुहुन्छ । “अर्काको देशमा घरपरिवार छाडेर बस्दा मन कत्ति पनि रमाउँथेन, अहिले परिवारसँगै बसेर बाख्रापालन गर्दा सन्तुष्टि मिलेको छ ।” विदेशमा भेडाबाख्रा चराउने काम गरेको अनुभव आलेलाई स्वदेशमा फाइदा भएको छ ।

आलेलाई जेठो छोरा र श्रीमतीले बाख्रापालनमा सघाइरहनुभएको छ । “श्रीमती र छोराको सहयोगले पनि बाख्रापालन व्यवसाय अगाडि बढाउन मद्दत मिलेको छ”, उहाँले भन्नुभयो । विदेशमा गएर दुःख गर्नुभन्दा स्वदेशमै बसेर केही न केही काम गर्न सके आनन्द आउने उहाँले सुझाव दिनुभयो ।

आलेको बाख्राफार्ममा अहिले ८० भन्दा बढी बाख्रा छन् । बाख्रा बेचेर वार्षिक रु चार/पाँच लाख आम्दानी हुने गरेको छ । बाख्रा बिक्रीका लागि कुनै समस्या छैन । बाख्रा खरिदका लागि व्यापारी घरसम्मै आउने गरेका छन् ।

सोही ठाउँका रुपबहादुर थापा पनि बाख्रापालनमा आबद्ध हुनुहुन्छ । उहाँले ५० भन्दा बढी बाख्रापालन गरिरहनुभएको छ । “बाख्रापालन नै आम्दानीको मुख्य स्रोत हो, बाख्रा पालेरै घरखर्च चलाउँदै आएको छु”, उहाँ भन्नुहुन्छ, “आफूले जे गरेको छ त्यसमै सन्तुष्टि हुनुपर्छ ।”

यही ठाउँकै आइतसिंह आले, सन्तबहादुर आलेलगायत २१ घरधुरी बाख्रापालनमा आबद्ध छन् । सबैले १५/२० वटा बाख्रापालन गरिरहनुभएको छ । यहाँका स्थानीयवासीको घरमा बाख्रा नहुने कुनै घर छैन ।

यहाँका स्थानीयवासीले यस वर्षको दसैँका लागि रु सात लाख बराबरको खसीबोका बिक्री गरेका छन् । कृषकले पालेका ३० वटा बाख्रा एकैचोटि बिक्री गरिएको छ । प्रतिकिलो रु पाँच सय ८० का दरले बाख्रा बिक्री गरिएको छ ।

भीमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आले २०६८ सालदेखि बाख्रापालनमा आबद्ध हुनुहुन्छ । उहाँको बाख्रा फार्ममा अहिले ६० भन्दा बढी बाख्रा छन् । आलेले बाख्रापालनबाट वार्षिक रु आठ/नौ लाख आम्दानी गर्नुहुन्छ ।

विसं २०६८ सालमा सव ओभरसियरको पढाइ उत्तीर्ण गर्ने बित्तिकै आलेले व्यावसायिक रुपमा बाख्रापालनमा सुरु गर्नुभएको थियो । बुबाले परम्परागत रुपमा बाख्रापालन गर्दै आएकामा आलेले त्यसलाई व्यावसायिकमा रुपान्तरण गर्नुभएको थियो ।

सव ओभरसियर उत्तीर्ण भएपछि जागीर नखाएर किन पशुपालनतर्फ लागेको भन्दै गाउँलेले भन्ने गरेको स्मरण गर्दै आले सम्झिनुहुन्छ, “मैले गाउँमै बसेर पशुपालनमार्फत् गाउँलाई नमूना बनाउँछु भन्ने अठोट लिएर यसतर्फ अगाडि बढे ।”

बाख्रापालनका लागि आधुनिक बाख्रा खोर निर्माण गरिएको छ । अन्न फल्ने खेतबारीमा बाख्राका लागि घाँसखेती गर्दा कमैले मात्रै उत्प्रेरणा प्रदान गरे पनि उहाँले आफ्नो कर्म कहिल्यै छाड्नुभएन । फलस्वरुप उहाँ अहिले जिल्लाकै नमूना बाख्रापालक कृषकको रुपमा परिचित हुन सफल हुनुभएको छ ।

आलेले बाख्रापालनका लागि १५ हजारभन्दा बढी घाँसका बिरुवा रोप्नुभएको छ । “पहिला–पहिला त गाउँमा बसेर के पशुपालन गरेको विदेश जाउ पनि भन्थे तर अहिले मेरो सफलता देखेर अन्य मानिसले समेत हौसला दिने गरेका छन्”

साना किसान लघुवित्तमार्फत दश महिना इजरायल बसेर फर्किनुभएका आलेले पशुपालनको क्षेत्रमा थप कुरा सिक्ने अवसर पाएको उल्लेख गर्नुभयो । आले भन्नुहुन्छ, “इजरायलमा बस्दा कृषिको बारेमा धेरै कुरा सिक्न पाएँ । पानीको अभावमा पनि इजरायलमा राम्रो खेती भएको रहेछ । हाम्रोमा त प्राकृतिक रुपमा नै पानी प्रशस्त छ त्यसलाई सदुपयोग गर्नसके धेरै काम गर्न सकिन्छ ।”

साना किसान सहकारीबाटै आलेले केही दिन अगाडि मात्रै रु एक लाख बराबरको पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँ जिल्लाबाट पनि उत्कृष्ट बाख्रापालक कृषकको रुपमा पुरस्कृत भइसक्नुभएको छ । भिमाद नगरपालिका–९ का वडासदस्य रहनुभएका आलेले बाख्रापालनबाटै नाम र दाम कमाएको उल्लेख गर्नुभयो ।

पाथर्दीका हरेक घरधुरी बाख्रापालन व्यवसायमा आबद्ध छन् । यहाँका ६० घरधुरीले बाख्रापालनबाट आम्दानी गरिरहेका छन् । दिलमाया थापा, लुमाया थापा, देवी मोक्तान आले, नरमाया थापा, श्रीमाया आले, खेमबहादुर थापा, टकबहादुर थापा लगायत व्यावसायिक बाख्रापालनमा आबद्ध हुनुहुन्छ ।

परम्परागत रुपमा मात्रै बाख्रापालन गर्दै आएका यहाँका कृषकले २०७१ सालदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । यहाँका कृषकले घटीमा १० र बढीमा ७० बाख्रा पालिरहनुभएको छ । यहाँका कृषकको आम्दानीको स्रोत नै बाख्रापालन बनेको छ । बाख्रापालनमा युवादेखि वृद्धसम्मको आकर्षण बढेको छ ।