आज नवरात्रिको अन्तिम दिन बिजया दशमी
सुरेश किरण, मैत्री न्युज
काठमाडाैं, १९ असाेज । आज दसैंको अन्तिम दिन । साथै सबैभन्दा प्रमुख दिन पनि हो । गएको दस दिनदेखि चलिरहेको नवरात्रिको पनि आज अन्तिम दिन हो ।
आजको अन्तिम दिन पशुपति क्षेत्रमा रहेको गुह्येश्वरीमा नवरात्रि मेला जाने चलन छ। आज तीर्थ जाने गुह्येश्वरीको यो तीर्थ बागमती र मारदायनी नदीको संगम हो । यो संगमको नाम शान्त तीर्थ हो ।
यो तीर्थबारे स्वयम्भू पुराण कृतिमा धेरै कुरा वर्णन गरिएको छ । यो तीर्थमा सेतो वर्णका सोमाशीखी नागराजको वास रहेको विश्वास गरिन्छ ।
यो तीर्थमा स्नान गर्नाले वात चित्त श्लेष्म जस्ता रोगबाट मुक्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। यो तीर्थमा स्नान गरी नजिकै रहेको गुह्येश्वरी पीठमा पूजा गर्ने चलन रहेको छ ।
गुह्येश्वरी देवी धेरैको श्रद्धाका देवी भएको र पशुपति क्षेत्रमा रहेको मन्दिर भएकोले यहाँको तीर्थ पनि अरुका दाँजोमा संरक्षित भएको देखिन्छ।
नवरात्रिमा खास गरी यो तीर्थमा गई समापन गर्न जाने हो । कुनै टोल वा समूहले नवरात्रि मेलाको आयोजना गर्यो भने लगातार तीन वर्षसम्म मेला गर्नु पर्दछ।
तेस्रो वर्ष अर्थात् अन्तिम वर्ष गुह्येश्वरी गई मेला सकाएर हनुमानढोकास्थित तलेजु भवानीकोमा गई पूजा गर्ने र नवरात्रि मेला समापनको भोज खुवाउने चलन छ ।
