आज बिहान ८ः२० बजे देखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध; नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च

चितवन, २० असोज । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।
अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो । नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ ।
नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो । एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ । यस्तै देवघाट मापन केन्द्रमा पनि पानीको बहाव सात दशमलव चार मिटर पुगेको छ । सात दशमलव तीन मिटर पुगेपछि सतर्कता तह पार हुन्छ ।
देवघाटमा नौ मिटर पानीको बहाव पुगेपछि खतराको सङ्केत मानिन्छ । नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ । नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी तटीय क्षेत्र जोखिममा परेका छन् ।