सन्दीपलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं, २४ असोज । बलात्कार आरोपमा पक्राउ परेका सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएकाे छ ।

उनलाई जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रेको थियो ।

दशैंको बिदाका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको हो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।

उनलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको थियो । इन्टरपोलको निशानामा परेलगत्तै उनी काठमाडौं फर्किएका थिए ।

उनीविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो ।