शताब्दीपुरुष जोशीको स्वास्थ्य स्थिर

काठमाडौं, २४ असोज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको उपचार अहिले किष्ट अस्पतालको आईसीयु कक्षमा राखी शुरु गरिएको छ ।

हिजो साँझ ४ बजेदेखि उहाँलाई अस्पतालको वार्डबाट सारी आईसीयु कक्षमा राखिएको थियो । उहाँका पारिवारिक सदस्य देवकी श्रेष्ठका अनुसार खानामा रुचि नभएका कारण उहाँलाई आईसीयु कक्षमा लगिएको हो ।

उहाँलाई आईसीयु कक्षमा सारिएपछि हिजै किष्ट अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जोशीको स्वास्थ्यमा कुनै सुधार नभएको र खानामा पनि रुचि कम हुँदै गएको व्यहोरा उल्लेख छ ।

उहाँ अहिले कसैसँग संवाद गर्ने अवस्थामा हुनुहुन्न । हिजो आईसीयुमा बेड सार्दा भने बेडमा ठोकिँदा उहाँले ‘अय्या !’ भनी सामान्य प्रतिक्रिया दिनुभएको थियो ।

अस्पतालका अनुसार उहाँलाई डेंगू संक्रमण भएको थियो । डेंगूले निक्कै गलाएका उहाँलाई पिसाबको इन्फेक्सन पनि भएको थियो ।

१०३ वर्षीय जोशीको स्वास्थ्यमा अहिले उल्लेख्य सुधार नभए पनि खस्किँदो अवस्था पनि नभएको उहाँको पारिवारिक स्रोतले बताएको छ ।

उहाँ गएको १७ दिनदेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । किष्ट अस्पतालले उहाँ र उहाँकी धर्मपत्नीको स्वास्थ्य उपचार निःशुल्क गर्दै आइरहेको छ ।