नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी पोखरामा

कास्की, २४ असोज। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी आज पोखरा आइपुगेको छ ।

गत भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभएको ट्रफी यसअघि अन्य छवटा प्रदेश तथा तीनवटा विभागीय टोलीमा पुर्याएर पोखरा आइपुगेको हाे ।

राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज ट्रफी अनावरण गर्नुभयो । त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङलगायतको उपस्थिति थियो ।

राष्ट्रिय खेलकुदको गरिमा र महत्वलाई दृष्टिगत गर्दै परिषद्ले पहिलो पटक ट्रफी टुर कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता कराँतेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई सहभागी हुनुहुन्छ ।

उहाँहरूलाई मुख्यमन्त्री पोखरेलले स्वागत गर्दै चार दशकपछि प्रतियाेगिता आयोजना गर्न पाउनु गण्डकीवासीका लागि गौरवको विषय भएको बताउनुभयो । राष्ट्रमा खेलकुदको विशिष्ट महत्व रहेकाले यस खेललाई भव्यताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।