ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित गच्छदारको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी परेकाे छ ।

ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित गच्छदारले सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका थिए ।

गच्छदारको उम्मेदवारी विरुद्ध सोमबार काठमाडौं ७ बस्ने युवा विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी दिएका हुन्।

गच्छदारविरुद्ध उजुरी आएको जानकारी निर्वाचन आयोगले जनाएको छ। आयोगले उक्त उजुरी सम्बन्धित निर्वाचन क्षेत्रमा पठाउन निर्देशन दिएको छ।

आयोगले हिजो आइतबार उम्मेदवारी दर्ता गराएकाविरुद्ध सोमबार उजुरी आब्हान गरेको थियो।

त्यहीअनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उजुरी परेको हो।

२०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर गरेका थिए।

त्यस प्रकरणका एक मुख्य आरोपी गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *