मानव बस्ती छिरेर सताउने बाघ नियन्त्रण
चितवन, २५ असाेज । चितवनकाे माडी नगरपालिका–२ सितलपुरबाट मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले उक्त बाघलाई सोमबार राति १० बजे नियन्त्रणमा लिएको हो ।
बाघले असोज २३ गते स्थानीय उमनाथ पौडेलको गोठमा बाँधेको पाडो मारेको थियो । बाघ पुनः सोही क्षेत्रमा आएपछि डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
उहाँले एक महिनादेखि बाघ पटक–पटक गाउँमा पसेका कारण नियन्त्रणमा लिनुपरेको बताउनुभयो । नियन्त्रणमा लिइएको बाघलाई कसरामा रहेको खोरमा राखिएको छ ।
बाघको स्वास्थ्य अवस्था र आनीबानी हेरिसकेपछि निकुञ्जको निगरानी रहने स्थानमा छाडिने संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको थियो । पछिल्लो तथ्याङ्कानुसार यस निकुञ्जमा एक सय २८ बाघ रहेका छन् ।