०७४ को निर्वाचनमा २२ हजार मतअन्तरले विजयी विष्णुलाई गुरुङको उम्मेदवारी खारेजपछि रुपन्देही २ मा थप सहज
बुटवल, २६ असोज। रुपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधी सभामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। उहाँसँगै स्वतन्त्र उम्मेदवार हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको पनि उम्मेदवारी खारेज भएको निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ । त्यसैगरी स्वतन्त्र पदका हिमाल बश्यालको पनि उम्मेदवारी खारेजी भएको छ ।
अब रुपन्देही २ मा नेकपा (एमाले), मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति पार्टी, नोपली कांग्रेस (बीपी), नेपाल दलित पार्टी, राष्ट्रिय स्वतन्त्रपार्टी र अन्य स्वतन्त्र गरी १५ उम्मेदवार बाँकी रहेका छन् । एमालेका तर्फबाट पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा ४४ हजार ९ मत सहित विजयी हुनुभएको पौडेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९ सय ४६ मत मात्रै ल्याउनु भएको थियो । अघिल्लो निर्वाचनमा फराकिलो मतअन्तरले विजयी हुनुभएका पौडेलसँग निर्वाचन कार्यालयको कारवाहीपछि यो पटक चुनावी प्रतिस्पर्धामा उहाँसँग ठूला दल रहेनन् । यसकारण पनि उहाँलाई चुनाव जित्न थप सहज हुने देखिएको छ ।