९९ वर्षका टिका दत्त प्रचण्डसँग गोरखामा भिड्दै, हिमेशसहित २५ वर्षका १० बढी उम्मेदवार मैदानमा

काठमाडौँ, २६ असोज। निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । जसमध्ये प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रका लागि २ हजार ५ सय ३१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार उम्मेदवार मध्ये ९९ वर्षदेखि २५ वर्ष उमेरसम्मका उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

गोरखा २ बाट ९९ वर्षीय टिका दत्त पोखरेलले उम्मेदवारी दिनुभएको छ । त्यहि क्षेत्रबाट गठबन्धनका तर्फबाट ६६ वर्षीय नेकपा माओवादी अध्यक्ष प्रचण्ड र एमालेका तर्फबाट सबै भन्दा कम उमेरका अर्थात २७ वर्षीय अब्दुस सलाम मिया पनि उम्मेदवार हुनुहुन्छ । गोरखा २ मा स्वतन्त्रसहित १३ जनाको उम्मेदावरी परेको छ । त्यसैगरी तेह्रथुमबाट ८७ वषीय युवराज गौतम उम्मेदवार बन्नुभएको छ । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएको हो ।

आयोगले दिएको जानकारी अनुसार माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका महेन्द्र राय यादवको उमेर ८५ वर्ष छ । उहाँ सर्लाही–२ बाट उम्मेदवार हुनुहुन्छ । त्यस्तै ८५ वर्षकै विष्णुप्रसाद ढकाल पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँ काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । बागलुङ एकबाट गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका चित्रबहादुर केसीको उमेर ८० छ । उहाँ राष्ट्रिय जनमोर्चाको नेता हुनुहुन्छ ।

त्यसैगरी झापा १ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको विकास राजबंशीको उमेर २५ छ । जनता समाजवादी पार्टी नेपालका ७० वर्षीया राधा थापा र एमालेका तर्फबाट ६२ वर्षका अग्नी खरेल पनि त्यहि क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । धनुषा ३ बाट उठ्नु भएको स्वतन्त्र उम्मेदवार ज्योति कुमारी साह, पूजा साह र मात्रिका प्रसाद दासको उमेर पनि २५ छ । धनुषा ३ कै स्वतन्त्र उम्मेदवार कृष्णा यादवको उमेर २६ छ ।

धनुषा ४ बाट स्वतन्त्र उम्मेदवार राम अचल यादवको उमेर पनि २५ छ । धनुषा ४ बाट उम्मेदवार बन्नुभएको दिपेश कुमार यादवको पनि उमेर २५ नै छ । २६ वर्षको अनिल कुमार चौधरी र रामगुण यादव पनि धनुषा ४ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । रौतहटबाट १ बाट स्वतन्त्र उम्मेदवार राहुल कुमार मिश्र र धादिङ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएको हिमेश पन्तको उमेर पनि २५ छ । काठमाडौँ ४ बाट स्वतन्त्र उम्मेदवार दिनेश चौँलागाईको उमेर पनि २५ छ ।