उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने र चुनाव चिह्न वितरण गरिने
काठमाडौं, २६ असाेज । निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका उम्मेदवारहरुलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ ।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ ।
निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगले जनाएकाे छ ।
त्यसअघि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए लिनसक्ने छन् । उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्म छ ।