उम्मेदवारको फोटो राखेर सामाजिक सञ्जालमा बधाई दिने, लाइक, सेयर गर्ने कर्मचारी, शिक्षकमाथि कारबाही गरिने
काठमाडाैं, २६ असाेज । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूसँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै बधाई दिने सरकारी कर्मचारी र शिक्षकहरूमाथि निर्वाचन आयोगले कार्वाही गर्ने भएकाे छ ।
कतिपय सरकारी कर्मचारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा सम्वद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरूले उम्मेदवारहरूसँग तस्बिर खिचाएर बधाई दिने, शुभकामना दिने गरेको पाइएकोले आयोगले कडाइ गरेको हाे।
राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्री शिक्षक तथा कर्मचारीले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर) लगायतमा सेयर र लाइक गरेका घटना अनुगनका क्रममा पाइएकोले आयोगले आवश्यक कारबाही सुरू गरेको जनाएकाे छ ।
राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाजिका सञ्जालमार्फत मत माग्न नहुने पनि आयोगले शिक्षक तथा कर्मचारीलाई सम्झाएको छ।