बाबुराम छिरेपछि शुरु भयो गठबन्धनमा गडबड

काठमाडौं, २६ असोज । चुनाव अघिसम्म ठीकठाकै रहेको सत्ता गठबन्धन चुनाव शुरु हुने अघिल्लो सातादेखि भद्रगोल स्थितिमा पुगेको छ जुन अहिले पनि जारी छ ।

हिजैमात्र रुपन्देही क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनको भद्रगोल अझ प्रस्ट भएको छ ।

सत्ता गठबन्धनभित्र यो भद्रगोलको आरम्भ त्यतिबेलादेखि भएको हो जब जसपाले गठबन्धन छोडेर नेकपा (एमाले) सँग चुनावी तालमेलको निर्णय गर्यो । जसपाका नेताहरू भने यो भद्रगोल त्यतिबेला शुरु भएको दावी गर्छन् जब माओवादीको बाटो प्रयोग गर्दै गठबन्धनमा डा. बाबुराम भट्टराईको प्रवेश भयो ।

जसपा त्याग पछि एक्लिएका डा. भट्टराईले अचान माओवादी अध्यक्ष प्रचण्डसँग सम्बन्ध सुधार्न शुरु गर्नुभएको थियो । उहाँहरूले आफ्नो सम्बन्धलाई राजनीतिक तहबाट उठाएर एकैचोटी पारिवारिक तहसम्मै विस्तार गर्नुभयो । र, माओवादीको चिन्ह लिएर चुनाव लड्नेसम्मको घोषणा पनि गर्नुभयो ।

तर समस्या त्यतिबेला शुरु भयो जब चितवनको क्षेत्र नं. ३ मा माओवादी अध्यक्ष प्रचण्डलाई त्यहाँका कांग्रेस कार्यकर्ताहरूले सहयोग नगर्ने अवस्था सिर्जना हुन गए ।

चितवनको मेयरमा पनि माओवादी र अहिले प्रतिनिधिसभामा पनि माओवादी हुँदा चितवन कांग्रेसको अस्तित्वमै संकट आउने भन्दै स्थानीय कार्यकर्ताहरू योपाली माओवादीलाई सहयोग नगर्ने मनःस्थितिमा पुगेका थिए ।

त्यसपछि प्रचण्डले चितवन बाहेक अन्य सुरक्षित ठाउँबाट चुनाव लड्ने मनस्थिति बनाउनुभयो । त्यसमा उहाँलाई डा. बाबुराम भट्टराईको साथ प्राप्त भयो ।

भट्टराईले उहाँलाई गोर्खाको आफ्नै चुनाव क्षेत्रमा आउन निमन्त्रण गर्नुभयो । र, त्यसको बदलामा काठमाडौं क्षेत्र नं. ७ मा आफ्नी छोरी मानुषी यमि भट्टराईलाई उठाउनुपर्ने शर्त राख्नुभयो ।

काठमाडौं ७ मा गठबन्धनका तर्फबाट शुरुदेखि नै जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नाम प्रस्तावित थियो । त्यो श्रेष्ठले एकपटक एमालेका तर्फबाट जित्नुभएको पनि क्षेत्र हो । त्यसैले मानुषीलाई उठाउने हो भने काठमाडौंकै अर्को क्षेत्र रोज्नलाई अनुरोध गरिएको रहेछ । तर भट्टराई मान्नुभएन ।

क्षेत्र नं. ७ मानुषीकी आमा हिसिला यमिले पनि एक पटक जित्नुभएको क्षेत्र हो । मानुषीले क्षेत्र नं. ७ नै राज्नुभएको मुलतः आमा हिसिलाकै बलमा हो । यो क्षेत्रमा काठमाडौं ‘कोर एरिया’ का प्रमुख वडाहरू १६, १७, १८ र २५ रहेको छ ।

हिसिलाको माइती पनि रहेको यी वडाहरूमा उहाँका धेरै आफन्तहरू छन् र स्थानीय नेवाः समुदायसँग उहाँको सम्बन्ध पनि घनिष्ठ रहेको पाइन्छ ।

त्यसैले राजेन्द्र श्रेष्ठ र मानुषी यमि भट्टराई दुवैजनाले ७ नम्बर क्षेत्र छोड्न नमानेपछि दुवै जनाले यही ठाउँमा प्रतिस्पर्धा गर्ने हो कि भन्नेसम्मको कुरा पनि गठबन्धनभित्र चलेको बताइन्छ । तर एउटै गठबन्धनमा बसेर दुई जनाले अलग अलग उम्मेदवारी दिँदा हास्यास्पद लाग्ने भएकोले त्यो प्रस्ताव स्वीकृत भएन ।

विवाद बढ्दै जाँदा गठबन्धनका एक वरिष्ठ नेता प्रचण्डले पनि जसपालाई भन्दा बाबुरामलाई प्राथमिकता दिन थाल्नुभयो । बाबुराम भट्टराई केही समयअघि मात्रै जसपा परित्याग गरी निस्केका नेता हुनुहुन्छ ।

त्यसैले उहाँसँग जसपाको सम्बन्ध उसै पनि मधुर थिएन । त्यसमाथि प्रचण्ड पनि बाबुरामतिरै ढल्किन थालेपछि जसपाका नेताहरू कुनै विलम्ब नगरी बालुवाटारबाट सिधै बालकोट प्रवेश गरे । त्यसपछि गठबन्धनभित्रको दृश्य बदलियो ।

जसपा सूत्रका अनुसार गठबन्धनभित्र जसपाको भागमा केवल १४ सिट मात्रै छुट्याइएको थियो । जसपा यदि यही १४ सिट भित्र सीमित रही चुनाव लडेको भए उसलाई दुइटा बेफाइदा हुने निश्चित थियो । पहिलो, मत संख्या नपुगेर समानुपातिक तर्फबाट पनि जसपाका थोरै मात्र सांसद जाने सम्भावना रहन्थ्यो । दोस्रो, यही मत संख्या नपुगेर भोलि राष्ट्रिय पार्टी बन्न पनि गाह्रो पर्ने अवस्था हुन्थ्यो ।

अहिले जसपाले देशभरिका ६५ जिल्लाबाट उम्मेदवारी दिएको छ भने त्यस मध्ये १२ जिल्लाका १७ सिटमा एमालेसँग तालमेल बनाएको छ । काठमाडौं क्षेत्र नं. ७ मै भने तालमेल हुन सकेन । अहिले उक्त क्षेत्रमा जसपाबाट राजेन्द्र श्रेष्ठ, गठबन्धनबाट मानुषी यमि भट्टराई र एमालेबाट श्याम घिमिरेले उम्मेदवारी दिनुभएको छ । काठमाडौं ७ गएको निर्वाचनमा एमालेले जितेको क्षेत्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *