नक्सालकाे क्राउनप्लाजा होटलमा जलेकी युवतीको अस्पतालमा मृत्यु, दुई जना पक्राउ

काठमाडौं, २६ असाेज । काठमाडौंको नक्सालमा रहेकाे क्राउन प्लाजा होटलमा जलेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

आगो जलेकी २३ वर्षीया युवतीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हाे । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका-१४ का २६ वर्षीय केशव रिजाल छन् ।

पक्राउ परेका श्रेष्ठ होटलका कर्मचारी हुन् भने रिजाल महिलासँगै होटलमा बस्न गएका प्रेमी हुन् ।

एसपी मैनालीका अनुसार घटना सोमबार बिहान भएको थियो । आगो लागेपछि गम्भीर घाइते भएकी युवतीको उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो।

पक्राउ परेका दुई जनामाथि ज्यान सम्बन्धी कसूरमा प्रहरी वृत्त कमलपोखरीबाट अनुसन्धान भइरहेको छ।