मुख्यमन्त्री राउतले हटाए मधेश प्रदेशका कांग्रेस मन्त्रीहरू
काठमाडौं, २८ असोज । संघीय सरकारबाट जसपाका चार मन्त्रीहरू हटाइएको बदला स्वरुप जसपाको नेतृत्वमा रहेको मधेश प्रदेशको सरकारले पनि कांग्रेसका तीन मन्त्रीहरू हटाएका छन् । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उहाँहरूलाई हटाउनुभएको हो ।
हटाइएका मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादव, महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो संघीय सरकारबाट जसपाका चार जना मन्त्रीलाई हटाएपछि अब मधेश प्रदेशमा पनि कांग्रेसका मन्त्रीहरूलाई हटाइने चर्चा चलिसकेको थियो ।
मुख्यमन्त्री राउतले तीन जनै मन्त्रीहरूलाई हिजो बेलुका ८ बजे फोन गरी मन्त्री पदबाट राजीनामा गर्नुहोला, नभए बर्खास्त गरिनेछ भनी जानकारी दिनुभएको थियो । तर दिउँसोसम्म पनि कसैले राजीनामा नदिएपछि मुख्यमन्त्री राउतले उहाँहरू तीनैजनालाई बर्खास्त गर्नुभएको हो ।
सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरूको पद भने कायमै राख्ने जनाइएको छ । मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीका दुई मन्त्रीहरू छन् ।
एक वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले चुनाव घोषणापछि नियुक्त गरेका सात मन्त्रीहरुलाई सर्वोच्च अदालतको फैसलाले सात दिनमै पदमुक्त गरेको थियो । अहिले पनि चुनाव घोषणा भइसकेको कारणले मन्त्रीहरूलाई पदमुक्त गर्नु सर्वोच्चको व्याख्या विपरित हुन जाने दावी जसपा निकट कानून व्यवसायीहरूले गर्न थालेका छन् ।
सत्ता गठबन्धनभित्र सीटको तालमेल नमिलेका कारण गठबन्धनकै एक घटक जसपा गठबन्धन छोडेर नेकपा (एमाले) सँग तालमेलमा गर्न गएपछि गठबन्धनभित्रको समीकरण बिग्रन थालेको हो ।