पूर्व मेयर विद्यासुन्दर शाक्यलाई शंखधर पदक
काठमाडौं, २९ असोज । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यलाई शंखधर पदक प्रदान गरिने भएको छ । नेपाल संवत्को प्रयोग एवं यसको सम्वद्र्धन कार्यमा उहाँले पुर्याउनुभएको योगदानको कदर स्वरुप राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले यो पदक प्रदान गर्न लागिएको हो ।
प्रतिष्ठानले यसै वर्षदेखि प्रदान गर्न लागिएको यो पदक पूर्व मेयर शाक्य लगायत ललितपुर महानगरपालिकाका वर्तमान मेयर चिरिबाबु महर्जन, गायक पवित्र कसाः, साहित्यकार तिलकप्रकाश कायस्थ र पत्रकार सुगतरत्न सिन्दुराकारलाई पनि प्रदान गर्ने निर्णय भएको छ ।
उहाँहरूले आआफ्नो क्षेत्रबाट नेपाल संवत्को प्रचार प्रसार र सम्वद्र्धनमा पुर्याउनुभएको योगदानको कदर स्वरुप यो पदक प्रदान गर्न लागिएको हो ।
प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठका अनुसार यी पदकहरू दुई तोला चाँदीबाट बनेको छ ।
त्यस्तै प्रतिष्ठानले नेपाल संवत्को प्रचार प्रचारमा विशिष्ट योगदान पुर्याए वापत विराट नेपालभाषा साहित्य सम्मेलन गुथि र नेपाल संवत् अभियन्ता श्यामकृष्ण मानन्धरलाई सम्मान प्रदान गर्ने निर्णय पनि भएको छ ।
यही आउँदो कार्तिक ९ गते नेपाल संवत् ११४३ नयाँ वर्षको उपलक्ष्यमा ठिमीको शंखधर चोकमा आयोजना गरिने विशेष कार्यक्रममा प्रदान गरिने छ ।