विराटनगर महानगरपालिका द्वारा छठ पर्वमा पूजा गर्न नहर सफाइ

मोरङ, ३० असाेज । विराटनगर महानगरपालिकाले नगर क्षेत्रको नहरलाई सफाइ अभियान सञ्चालन गरेको छ । ‘छठ’ पर्वमा घाट बनाएर पूजापाठ गर्नका लागि फोहररहित बनाउने उद्देश्यले नहर सफाइ अभियान चलाएकाे महानगरले जनाएकाे छ ।

विराटनगरमा जलाधार क्षेत्र सिङ्घिया नदी, केशल्या नदी तथा नहरमा बर्षेनी ‘छठ’ पर्वमा हजारौँ भक्तजनले आकर्षक घाट बनाएर पूजापाठ गर्दै आएका छन् ।

सुनसरी–मोरङ सिँचाइ आयोजनाको सहकार्यमा महानगरले नहरको सफाइ सुरु गरेको हो । महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो ।

बिहान ६ बजेदेखि नै सफाइ सुरु हुने गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो । एउटा जेसिवीले खार्जीदेखि जामुनगाछीसम्म र अर्को जेसिवीले जामुनगाछीदेखि रानीसम्म सफा गर्नेछ ।

छठ पर्वमा भक्तजनले नहरमा मण्डप बनाएर पूजा गर्ने गर्छन । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले विराटनगरको वडा नं ४, ५, ६, ११, १२, १६ लगायतका वडा समेटेको छ ।