को बन्ला त बागमती प्रदेशका आगामी मुख्यमन्त्री ?
काठमाडौं, ३१ असोज । संघीय नेपालका सात वटा प्रदेशहरू मध्ये बागमती नै यस्तो प्रदेश हो जहाँ देशका दुइटा राजधानीहरू अवस्थित छन् । एक, संघीय राजधानी काठमाडौं । अर्को, प्रदेश राजधानी हेटौंडा ।
त्यस्तै देशमा विद्यमान छ वटा महानगरपालिकाहरू मध्ये तीन वटा महानगरपालिका यही एउटा प्रदेशभित्र समावेश छन् – काठमाडौं, ललितपुर र चितवन ।
यस्तो महत्वपूर्ण प्रदेशको आगामी मुख्यमन्त्री को बन्छ होला ? मंसिर ४ गते हुने निर्वाचनका बेला यो पनि चर्चाको विषय बनेको छ ।
त्यसो त प्रदेशको मुख्यमन्त्री को बन्ला भन्ने कुरा चुनावको नतिजाले मात्रै भन्न सक्ने विषय हो । तर चुनावमा होमिएका ठूला राजनीतिक दलहरूले भने आगामी मुख्यमन्त्रीका रूपमा अहिले नै आफ्ना उम्मेदवारहरूलाई अगाडि सार्न थालेको पाइन्छ ।
प्रदेशसभाको गएको अवधिमा तीन वटा मुख्यमन्त्री पाएको बागमती प्रदेशमा बहुमत भने नेकपा (एमाले) को थियो । अहिले पनि एमाले पूर्ण बहुमत प्राप्त गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । एमालेले पूर्ण बहुमत प्राप्त गर्न सकेको खण्डमा प्रदेशको मुख्यमन्त्रीका रूपमा वर्तमान सभामुख सानुकुमार श्रेष्ठ अगाडि आउने सम्भावना प्रवल रहेको छ ।
काठमाडौं क्षेत्र नं. २ (ख) बाट उम्मेदवारी दिनुभएका श्रेष्ठ एमालेका एक निर्विवाद, सालिन एवं भद्र नेताका रूपमा परिचित हुनुहुन्छ । पार्टीका वरिष्ठ नेता भएको नाताले पनि मुख्यमन्त्री पदमा उहाँको स्वतः दावी रहने बताइएको छ ।
तथापि चितवन क्षेत्र नं. २ (ख) बाट उम्मेदवारी दिनुभएका एमाले नेता देवी ज्ञवालीलाई पनि बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा लिने गरिन्छ । पोहोर भएको स्थानीय तहको चुनावमा रेणु दाहालसँग पराजित भए पनि ज्ञवाली भने चर्चामा आउनुभएको थियो ।
नेपाली कांग्रेसका तर्फबाट हेटौंडाका नेता इन्द्रबहादुर बानियालाई मुख्यमन्त्रीको रूपमा अघि सारिएको छ । एमाले विभाजनपछि आठ आठ महिना मुख्यमन्त्री चलाउने सहमति गरी कांग्रेसले एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । तर आठ महिनापछि पाण्डेले पद छोड्न नमानेका कारण कांग्रेसले कार्यकाल बाँडेर लिन पाएन । यदि पाएको भए कांग्रेसका तर्फबाट बानिया नै मुख्यमन्त्री बन्ने निश्चित थियो ।
त्यतिबेला नपाएको मुख्यमन्त्री अहिले लिने दावीसहित बानियालाई पार्टीले अघि सारेको पाइन्छ । बानिया अहिले मकवानपुर क्षेत्र नं. २ (ख) बाट उम्मेदवार हुनुहुन्छ ।
तर उहाँलाई मकवानपुर क्षेत्र नं. १ (ख) बाट उम्मेदवार बनेका कांग्रेसकै अर्का नेता आनन्दराम पराजुलीले चुनौती दिने प्रवल सम्भावना रहेको छ । गएको स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकामा मेयरका दावेदार पराजुली गठबन्धनलाई मेयरको सिट छोड्नुपरेको कारणले पछाडि हट्नु परेको थियो । अहिले उहाँलाई त्यतिबेलाको त्यागको क्षतिपूर्ति स्वरुप मुख्यमन्त्रीमा ल्याउन सकिने सम्भावना रहेको बताइन्छ ।
बागमती प्रदेशका मुख्यमन्त्रीका रूपमा माओवादी केन्द्रले पनि उम्मेदवार अघि सारेका छन् । अहिले मन्त्रिपरिषद्मा पहिलो वरियतामा रहनुभएका शालिकराम जम्कट्टेललाई माओवादी केन्द्रभित्र भावी मुख्यमन्त्रीका रूपमा हेरिन थालिएको छ । उहाँ धादिङ १ (ख) बाट उम्मेदवार बन्नुभएको छ ।
वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डे आवद्ध रहनुभएको एकीकृत समाजवादी पार्टीले भने चितवन क्षेत्र नं. २ (ख) का उम्मेदवार कृष्णप्रसाद शर्मा खनाललाई भावी मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ । मुख्यमन्त्री पाण्डे प्रतिनिधिसभाको चुनावमा उठ्नुभएपछि मुख्यमन्त्रीको सम्भावना खनालतिर सर्न पुगेको हो ।
तर चुनावमा उठ्नुभएका यी सबै उम्मेदवारहरू जित्छन् भन्ने निश्चित छैन । तथापि सबैले जितको दावी भने गरिरहेका छन् ।
११० सदस्य रहेको बागमती प्रदेशसभामा ६६ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट निर्वाचत भएर आउँछन् भने ४४ जना समानुपातिक सूचीबाट आउँछन् ।
१३ वटा जिल्ला रहेको यो प्रदेशमा करिब सात लाख मतदाता रहेका छन् । जनसंख्याको हिसाबले यो देशकै सबैभन्दा ठूलो प्रदेश हो ।