सल्यानमा अरिंगालले टोक्दा आमाछोरीको मृत्यु

सल्यान, १ कार्तिक । सल्यानकाे सिद्ध कुमाख गाउँपालिकामा अरिंगालले टोक्दा आमाछोरीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

सिद्ध कुमाख–१ हमपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनकै चार वर्षीया छोरी प्राप्ति बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार साँझ खेतमा धान काट्न गएकी उनीहरू घर फर्किने क्रममा बाटोमा अरिंगालले टोकेको थियो। अरिंगालले तीनजनालाई टोकेकोमा आमाछोरीको उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

अर्का घाइते मृतक शोभाका काका नाता पर्ने २१ वर्षीय नवीन बस्नेतको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ। मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल लगिएकाे प्रहरीले जनाएको छ।