अज्ञात समूहले गोली हानेर घाइते बनाएका सहकारीकर्मी कार्कीलाई थप उपचारका लागि काठमाडौँ लगियाे
सर्लाही, २ कार्तिक । सर्लाहीमा अज्ञात समूहकाे गोली प्रहारबाट एकजना सहकारीकर्मी घाइते भएका छन् ।
बागमती नगरपालिका–१ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थामा आएका तीन जनाको अज्ञात समूहले संस्थामा कार्यरत लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीलाई गोली हानेको थियो।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तीनै जनाले कार्यालयमा काम गरिरहेको अवस्थामा बुधबार बिहान करिब सवा ११ बजे कार्कीलाई गोली हानी फरार भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
कार्कीलाई दाहिने पाखुरा, दाहिने कोखा, बायाँ कोखा र दाहिने तिघ्रामा गोली लागेको छ। उनलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं पठाइएको प्रवक्ता यादवले बताए ।
गाेली हानेर फरार भएका तीनै जनालाई पक्राउ गर्न जिल्लाभरिको सबै प्रहरी इकाइबाट प्रहरी टोली परिचालन गरिएको प्रवक्ता यादवले जनाएकाे छ ।
