सत्यमोहन जोशीको नाममा सिक्किममा पुस्तकालय

काठमाडौं, कात्तिक २ । आइतवार निधन हुनुभएका वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीलाई सिक्किमका नेवाः समुदायले सम्झेका छन् । सिक्किमस्थित नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालय र सिक्किम नेवाः गुथिको संयुक्त आयोजनामा स्वर्गीय जोशीको सम्झनामा हिजो एक शोकसभा आयोजना गरी उहाँको स्मरण गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालय सिक्किमका चेयरमैन दिलुकुमार प्रधानले स्वर्गीय जोशीको स्मृतिमा विद्यालयभित्र उहाँकै नामबाट ‘सत्यमोहन जोशी स्मृति पुस्तकालय’ स्थापना गर्ने घोषणा गर्नुभयो ।

स्वर्गीय जोशीको तस्बिरमा माल्यार्पण एवं एक मिनेट मौन धारणपछि शुरु गरिएको उक्त शोकसभामा वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठले सत्यमोहन जोशीका कृतिहरू विद्यार्थीहरूले अनिवार्य अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै हिजै स्वर्गीय जोशीको ललितपुर बखुंबहालस्थित निवासमै पाटन क्याम्पस नेपालभाषा केन्द्रीय विभागका विद्यार्थीहरूले शोकसभा आयोजना गरे । हिजो उहाँप्रति सम्मान अर्पण गर्न सरकारले घोषणा गरेको सार्वजनिक विदाकै दिन उहाँको निवासमा उक्त शोकसभा गरिएको थियो । सभामा केन्द्रीय विभागका प्राध्यापक एवं विद्यार्थीहरूले सम्बोधन गर्नुभएको थियो ।

उहाँको स्मरणमा यही आउँदो शनिवार बसन्तपुरमा पनि खुल्ला शोकसभा आयोजन गरिने भएको छ । विभिन्न संघ संस्थाहरूको संयुक्त आयोजनामा उक्त शोकसभा आयोजना गर्न लागिएको हो ।