प्रशिद्ध सात गाउँ जात्रा चलाइने बिष्णुदेवी मन्दिरको पताः चोरी

काठमाडौं, कात्तिक २ । काठमाडौंको दक्षिणी भेगका विभिन्न सात गाउँ मिलेर चलाइने प्रशिद्ध सात गाउँ जात्राका प्रमुख देवी बिष्णुदेवी मन्दिरमा चोरी भएको छ । उक्त मन्दिरको माथि गजुरदेखि तल मूलद्वारसम्म पुग्ने गरी राखिएको तामाको पताः (शिरविन्दु) चोरी भएको हो ।

आज बिहान मन्दिरमा पूजाका लागि गएका स्थानीयवासीले मन्दिरमाथि रहेको पताः गायब भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त पताः चोर्न मन्दिरको माथि छतसम्मै चढ्नुपर्ने हुन्छ । तर स्थानीयवासीका अनुसार सुनसान ठाउँमा रहेको उक्त मन्दिरमा कुनै सुरक्षा व्यवस्था पनि नभएको कारणले राति चोरी हुँदै गरेको कसैले नदेखेको हुनसक्छ ।

सम्पदास्थलमा आँखा गाड्ने चोरहरूको ध्यान पहिले पहिले मन्दिरको मूर्तिमाथि नै जाने गर्दथे । तर अहिले मन्दिरका अन्य बहुमूल्य वस्तुहरू पनि चोरी हुन थालेकाले सम्पदा–संस्कृतिप्रेमिहरू चिन्तित हुन थालेका छन् ।

बिष्णुदेवी मन्दिरको उक्त प्राङ्गणमा हरेक वर्ष मंसिर महिनामा काठमाडौंका दक्षिण भेगमा पर्ने सात गाउँहरू कीर्तिपुर, पांगा, नगाउँ, सतुंगल, ल्होंखा, बोसिगाउँ र मच्छेगाउँको जात्रा एकैचोटी चलाउने गरिन्छ । यो जात्रालाई बखुंमदः जात्रा पनि भनिन्छ ।