ललितपुरमा यो वर्ष भिन्तुना कार्यक्रम नहुने

ललितपुर, २ कात्तिक । नेपाल संवत् ११४३ नयाँ वर्षको उपलक्ष्यमा यो वर्ष ललितपुरमा कुनै पनि कार्यक्रम आयोजना नगरिने भएको छ ।

वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीको निधनका कारण शोक स्वरुप यो वर्ष ललितपुरमा नयाँ वर्षको भिन्तुना कार्यक्रम आयोजना नगर्ने घोषणा गरिएको हो ।

नयाँ वर्षको कार्यक्रम आयोजना गर्न गठन गरिएको ललितपुरको न्हूदँ (नयाँ वर्ष) समारोह समितिले हालै एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रले नै सम्मान गरेका अति विशिष्ट व्यक्तित्व श्री सत्यमोहन जोशीको निधनमा सम्पूर्ण मुलुक नै शोकाकूल अवस्थामा रहेका कारण यो वर्ष नयाँ वर्ष ११४३ को उपलक्ष्यमा कुनै पनि कार्यक्रम नगर्ने जानकारी गराएको हो ।

ललितपुरमा नेपाल संवत्को नयाँ वर्षमा कुनै कार्यक्रम आयोजना नगर्ने भनिए पनि काठमाडौं लगायत अन्य स्थानमा भने प्रस्तावित कार्यक्रमहरू यथावत सञ्चालन हुने जानकारी गरेको छ ।

काठमाडौंमा नयाँ वर्षको उपलक्ष्यमा भिन्तुना कार्यक्रम आयोजना गर्न गठिन समारोह समितिका अध्यक्ष प्रा.डा. नरेशमान वज्राचार्यले एक विज्ञप्ति जारी गर्दै काठमाडौंमा प्रस्तावित नयाँ वर्षका सम्पूर्ण कार्यक्रमहरू यथावत् सञ्चालन हुने जानकारी दिनुभएको छ ।

यस वर्ष आउँदो कात्तिक ९ गते नयाँ वर्षको भिन्तुना कार्यक्रम आयोजना गरिँदै छ । उक्त दिन काठमाडौंको बसन्तपुरबाट बृहत् सांस्कृतिक र्याली निकाल्ने कार्यक्रम रहेको छ । र्यालीपछि आयोजना हुने सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनुहुनेछ ।

सोही दिन मध्यपुर ठिमीको शंखधर चोकमा पनि राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतीमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा पनि प्रधानमन्त्री देउवा नै प्रमुख अतिथिका रुपमा सहभागी हुनेहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *