पाहुनाको गोप्य भिडिओ खिच्ने रेष्ट्रो क्याफेका हाेटल म्यानेजर पक्राउ

काठमाडौं, ४ कात्तिक । काठमाडौंको एक हाेटलकाे कोठाभित्र पाहुनाको गोप्य भिडिओ रेकर्ड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एन्ड लजका म्यानेजर चन्द्रागिरि घर भएका ४२ वर्षका मुकेश माली रहेकाे प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो उक्त लजमा बस्न आउने पाहुनाको गोप्य रूपमा भिडिओ रेकर्ड गरेको भन्ने सूचना प्राप्त हुन आएपछि प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले होटलमा पुगेर पालको मोबाइल जाँच गर्दा मोबाइलमा होटलमा बसेका विभिन्न व्यक्तिहरुको भिडियो फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथमा रहेको आइफोन १२ प्रो म्याक्स पनि बरामद गरेको छ ।
घटनाको विस्तृत अनुसन्धान गर्न प्रहरीले उनको फोन प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ।
मालीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।