पद्मरत्न तुलाधरको चौथो स्मृतिः नेपालमा उहाँ सक्रिय नभएको कुनै आन्दोलन छैन
काठमाडौं, ५ कात्तिक । वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको चौथो वार्षिकी आज सम्पन्न भयो । सो अवसरमा काठमाडौंको शंखधर पार्क (पुरानो रत्नपार्क) भित्र स्थापना गरिएको उहाँको सालिकमा माल्यार्पण गर्नुका साथै सभा आयोजना गरियो ।
सभालाई सम्बोधन गर्नुहुँदै काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपालमा शुरु भएका कुनै पनि अधिकारवादी आन्दोलनमा पद्मरत्न तुलाधरको अग्रणी भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा आरम्भ भएका मानव अधिकारवादी आन्दोलन होस् वा महिला, बालबालिकासम्बन्धी आन्दोलन होस्, पद्मरत्न तुलाधरले त्यसलाई पूरा साथ र समर्थन गर्नुभएको छ ।’
द्वन्द्वकालमा तुलाधरसँग मिलेर शान्ति वार्ताका लागि पहल गर्नुभएका पूर्व सभामुख दमननाथ ढुंगानाले पद्मरत्न केवल विचारका मात्र नेता नभई ‘एक्सन’ मा समेत उत्रेर कार्य गर्ने नेता रहनुभएको बताउनुभयो ।
‘उहाँको आफ्नै संगठन पनि थियो, त्यसैले कुनै काम गरौं भन्ने बित्तिकै उहाँ एक्सनमा उत्रिहाल्नुहुन्थ्यो,’ ढुंगानाले बताउनुभयो ।
तुलाधरकी छोरी सुम्निमा तुलाधरले आफ्ना बुबाले देशका सबैजसो आन्दोलनमा सहभागिता जनाई परिवारलाई मात्र होइन समग्र आन्दोलनकारीहरूलाई नै गौरवान्वित बनाउनुभएको बताउनुभयो ।
कार्यक्रमका सभापति पूर्व मन्त्री डा. केशवमान शाक्यले पद्मरत्न आफ्ना लागि अभिभावक सरह रहनुभएको बताउँनुहुँदै भन्नुभयो, ‘म त्यतिबेला सरकारी जागिरमा थिएँ, तर उहाँले मलाई नेपालभाषा मंकाः खलःमा काम गर्न बोलाउनुभयो । म त जागिरे मान्छे भन्दा उहाँले मंकाः खलःमा काम गरे वापत तिम्रो जागिर गयो भने तिमीलाई अन्त मिलाइदिउँला भनेर हौसला दिनुभएको थियो ।’
पद्मरत्न स्मृति राष्ट्रिय प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुथिको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा हालै दिवंगत हुनुभएका वाङमय शताब्दीपुरुष सत्यमोहन जोशी र प्रतिष्ठानका महासचिव डा. ओम गुरुङको तस्बिरमा पनि माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरले २०४६ सालमा नेपाली कांग्रेस र तत्कालीन वामपन्थी पार्टीहरूलाई एकै ठाउँ राखी निरंकुश पञ्चायती व्यवस्था विरुद्ध संयुक्त आन्दोलन गर्न ठूलो योगदान दिनुभएको थियो । त्यस्तै माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वका बेला सरकार व विद्रोही माओवादी बीच शान्ति वार्ता गराउन पनि उहाँले सहजकर्ताको भूमिका निभाउनुभएको थियो ।