मोरङमा छठ हेर्न गएका एक किशोरको छुरा प्रहार गरी हत्या ।

मोरङ, १४ कात्तिक । मोरङको उर्लाबारीमा एक १४ वर्षीय बालकको छुरा प्रहारगरी हत्या भएको छ। छठको रमाइलाे हेर्न उर्लाबारी-७ स्थित मावा खोला पुगेका दियुष श्रेष्ठको आइतबार राती हत्या भएको हो।

छुरा प्रहारबाट ज्यान गुमाएका बालक झापाको दमक – १० घर भएका धनबहादुर श्रेष्ठका १४ वर्षीय छोरा दियुष श्रेष्ठ हुन। उनी छठ हेर्न मावा आएको र त्यही बेला छुरा प्रहार भएको प्रहरीले जनाएको छ।

छुरा प्रहारबाट घाइते भएका दियुषको उर्लाबारीस्थित गोदावरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनीमाथि राति १०:२५ बजेतिर छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए।

उनीमाथि कसले छुरा प्रहार गर्‍यो भन्ने खुलेको छैन। तर, शंकास्पद समूह पहिचान भएको प्रहरीकाे भनाइ छ। छुरा प्रहारबाट दियुषको बायाँ कोखादेखि तलको भागमा चोट लागेको थियो।

प्रहरीले अनुसन्धानका लागि डियुजसँगै गएका साथीलाई नियन्त्रणले लिएको छ।