८ करोड मतपत्र चाहिएकोमा ७ करोड छपाइ सकियो
काठमाडौं, १४ कार्तिक । यही आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि आवश्यक पर्ने ८ करोड मतपत्र मध्ये ७ करोड मतपत्र छपाइ भइसकेको छ ।
निर्वाचन आयोगका अनुसार बाँकी मतपत्र पनि छपाइको अन्तिम चरणमा पुगिसकेको छ ।
मंसिर ३ गतेसम्म कायम हुने मतदाता संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब ४ करोड र प्रत्यक्ष प्रणालीतर्फ करिब ४ करोड मतपत्र आवश्यक पर्नेछ । आयोगका अनुसार दुवै प्रणालीका अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी रहेको छ ।
छपाइ भएका प्रत्यक्ष प्रणालीतर्फको मतपत्र मध्ये १ करोड २९ लाख ५३ हजार ५०० प्रदेश सभा तथा १ करोड ४६ लाख ३५ हजार प्रतिनिधि सभाको मतपत्र रहेका छन् । जसमा प्रतिनिधिसभाका लागि ५० र प्रदेश सभातर्फ ४६ जिल्लाको मतपत्र समावेश छन् ।
त्यस्तै निर्वाचन आयोगले छपाइ भएका मतपत्रहरू मध्ये मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा समानुपातिक प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भइसकेको जानकारी पनि दिएको छ ।
प्रत्यक्ष प्रणाली अन्तर्गत सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ । ढुवानी भएका जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालिकोट, दैलेख र सुर्खेत रहेका छन् । हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुरा जिल्लाका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ । यी जिल्लामा सुर्खेतबाट हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिने जानकारी पनि आयोगले दिएको छ ।
प्रत्यक्ष प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित मतपत्र प्रयोग गर्ने भएकोले यो पटक निर्वाचन क्षेत्र अनुसार फरक फरक मतपत्र प्रयोग हुने जानकारी आयोगले दिएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभाका लागि देशै भर एउटै मतपत्र प्रयोग हुने छ । प्रदेश सभाका लागि भने प्रदेशमा कायम रहेका दलको संख्या अनुसार फरक फरक मतपत्र प्रयोग हुनेछ ।
आयोगले ढुवानी भएका जिल्लाहरूमा अस्थायी मतदाताहरूका लागि प्रयोग हुने मपतत्रसमेत पठाएको छ । अस्थायी मतदाताको सूचीमा कर्मचारी, सुरक्षाकर्मी, कैदी, वृद्धाश्रमका व्यक्तिलगायतलाई समेटिएको छ । उनीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाका लागि मात्र मतदान गर्न पाउने छन् । १६ गतेसम्ममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा मतपत्र ढुवानी गरिसक्ने जानकारी आयोगले दिएको छ ।
००