सन्दीप लामिछानेकाे मुद्दामा आज थुनछेक बहस हुँदै
काठमाडौं , १६ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ ।
एक १७ वर्षिय नावालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनलाई बलात्कारको मुद्दा लागेकाे थियाे ।
अभियोगपत्र दायरपछि हिजाे मंगलबार अदालतमा सन्दीपको बयान भएको थियाे । बयानका क्रममा मा सन्दीपले भने, बदनियतका साथ कसैको उक्साहटमा अभियोग लगाइयो । लामिछानेले मंगलबार जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा बयान दिएका थिए ।
आज सन्दीपको प्रतिरक्षामा बहस गर्न वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी र अधिवक्ता मुरारीप्रसाद सापकोटाले वकालतनामा पेस गरेका छन् ।
सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।
दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो ।
पीडित भनिएकी किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूमाथि दुईपटक जबरजस्ती करणी गरेको बयानमा उल्लेख गरेकी छन् ।
सन्दीपले भने प्रहरीसँगको बयानका क्रममा बलात्कारको आरोप अस्वीकार गरेका छन् ।