काठमाडौंको पुष्पलाल पार्कमा शंखधर साख्वाः र पद्मरत्न तुलाधरको सालिक

काठमाडौ, १८ काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १८ स्थित पुष्पलाल पार्कमा राष्ट्रिय विभूति शंखधर साख्वाः र वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको सालिक स्थापना गरिएको छ ।

कामपा १८ वडा कार्यालयबाटै उक्त सालिक स्थापना गरिएको हो । पार्क भित्र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सालिक पनि राखिएको छ ।
आज एक समारोह बीच जनकवि दुर्गालाल श्रेष्ठले नयाँ राखिएका शंखधर साख्वाः र पद्मरत्न तुलाधरको सालिक अनावरण गर्नुभएको हो ।

समारोहलाई सम्बोधन गर्नुहुँदै कामपा १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनले शंखधर साख्वाः र पद्मरत्न तुलाधर दुवैले नेपालको पहिचान स्थापित गर्न विशिष्ट योगदान दिनुभएको कारणले उहाँहरूको सम्मानमा वडाभित्र दुवै जनाको सालिक स्थापना गरेको बताउनुभयो ।

कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ लगायत कामपाका निवर्तमान मेयर विद्यासुन्दर शाक्य, मानव अधिकारवादी नेता स्व. तुलाधरकी छोरी सुम्निमा तुलाधरले पनि मन्तव्य राख्नुभएको थियो ।