बलात्कार आरोपी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
काठमाडौं, १८ कात्तिक । बलात्कार आरोपी पूर्व कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।
सन्दीपका पक्षका वकिलहरुले बलात्कार आरोपभन्दा पनि पीडित नाबालिग हुन् वा होइनन् भन्ने विषयमा बहस गरेका थिए । तर सरकारी वकिलहरुले उमेरको कुरा सहायक विषय भएको बताउँदै मुख्य कुरा बलात्कार भएको प्रमाणहरुले स्थापित हुने जिकिर गरेका थिए ।
लामिछाने स्वयम्ले बयानमा पीडित भनिएकी किशोरीसँग भक्तपुर घुम्न गएर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बसेको स्वीकारेका छन् ।
होटलको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजबाट पनि यो पुष्टि भएको बताउँदै सरकारी वकिलले बलात्कार पुष्टि हुने दाबी गरेको थियो ।
आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
पुर्पक्षका लागि थुनामा गएसँगै लामिछाने मुद्धाको अन्तिम टुंगो नलागेसम्म हिरासतमै रहने भएका छन् ।
गएको असोज २० गते पक्राउ परेका सन्दीपलाई १० देखि १२ वर्षको कैद सजाय हुनु पर्ने माग दाबीसहित जिल्ला अदालतमा रिट दायर भएको थियो ।